चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना संक्रमित वृद्ध संगै आएका ज्वाईँ र उनीसँगै सघन उपचार कक्षमा रहेका बिरामीमा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।
मुटु, सुगर र उच्च रक्तचाप समेतका बिरामी रहेका भरतपुर महानगरपालिका वडा नं. ११ का वृद्धको मंगलबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको थियो ।
श्रीमती सहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि भरतपुरको नारायणी सामुदायिक अस्पताल लगेका ज्वाईँमा कोरोना संक्रमण नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
उहाँले अर्को सातातिर फेरि एकपटक स्वाब परीक्षण गराउनुपर्ने हुनसक्ने बताउनुभयो । उहाँलाई आइसोलेसनमा बस्न भनिएको छ ।
यस्तै, कोरोना संक्रमित वृद्धसँगै नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका अन्य चार जना बिरामीको समेत कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
अस्पतालका निर्देशक बिष्णु कुँवरका अनुसार ६ जना बिरामी र दुई स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ । बाँकी केही स्वास्थ्यकर्मी अहिले पनि होटलको क्वारेन्टाइनमा रहेको निर्देशक कुँवरले बताउनुभयो ।