चितवनः चितवनको नारायणी सामुदायीक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बिरामीलाइ अस्पतालले जर्वजस्ती भरतपुर अस्पतालमा स्थानान्तरण गरेपछि उनको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टी भएका भरतपुर ११ का ६८ बर्षीय पुरुषको आज बिहान ७ः ०५ वजे मृत्यु भएको भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो । उनि कोभिड १९ निमोनिया रोगबाट ग्रसित थिए र नारायणी सामुदायीक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलेअस्पतालको लापरवाहिका कारण उनको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नारयणी सामुदायिक अस्पतालका डा भक्तमानलाई फोन गरेर बिरामीलाई अन्यत्र नसार्न भनेको थिए, तर मलाई समेत थाहा नदिई कोरोना अस्पताल लगिएछ । यसमा लापरवाही देखियो ।” उहाँले भेण्टिलेटर आवश्यक पर्ने बिरामीलाई त्याहाबाट सार्नुनै गलत भएको बताउनुभयो । “यसबारेमा म बुझ्दैछु , कोहि दोषी ठहरिए कारवाही हुन्छ ।”उहाँले भन्नुभयो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले पनि ती कोरोना संक्रमित बिरामीलाई अन्यत्र नसार्न र त्यही उपचार गर्न भनेका थिए । तर नारायणी सामुदायिक अस्पतालको व्यवस्थापनले ती बिरामीलाई जर्वजस्ती कोरोना अस्पताल पठाएको थियो । आईसियुमा भेण्टीलेटरको साहायतमा उपचार गराईरहेका बिरामीलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालले स्थानान्तरण गरेको हो ।
नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले सरकारको निति अनुसारनै उनलाई स्थानान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“कोरोना संक्रमण देखिएपछि हामीले उपचार गर्ने हैन , सरकारीमा पठाउनु पर्छ त्यही भएर बिरामीलाई पठाईएको हो ।” उहाँले अमेरिकाको उदाहरण दिंदै कोरोना संक्रमितलाई भेण्टिलेटरमा राख्नु झन् खतरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुष्टी भएपछि त सरकारले हेर्छ , हामीले मिल्दैन त्यही भएर पठाएको हो ।” डा श्रेष्ठले यस्तो बताएपनि चितवनको स्थानीय प्रशाशनले ती बिरामीलाई अन्यत्र नसार्न भनेको थियो । प्रमुख जिल्ला अधिकारीको आदेशको समेत उलंघन गरेर आफुखुशी नारायणी सामुदायिक अस्पतालले बिरामी सारेपछि उनको निधन भएको हो ।
सो अस्पतालमा कार्यरत एक चिकित्सकलाई समेत कोरोना रोगको संक्रमण देखिएको छ ।






