
चितवनः गर्भबती रहेको समयमा कोरोना संक्रमण देखिए संगै हेटौडाबाट उपचारका लागि भरतपुर अस्पताल आउनु भएकी २५ वर्षिया महिला आज घर फर्कनु भएको छ । संक्रमण पुष्टि भएको पाँच दिनको दिन निको भएर घर फर्कदैं गर्नुभएकी पाँच महीनाको गर्भवती महिलाले कोरोना भाईरसको संक्रमण सामान्य रहेको बताउनुभएको छ ।
घर फर्कने क्रममा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो “कोरोना संक्रमण हुनु भनेको सामान्य रुघा खोकि लाग्नु हो आत्मबल बलियो वनाउनुस निको हुन्छ ।”
आँफुलाई कोरोना संक्रमण भएको भान नभएको बताउँदै उहाँले संक्रमण समेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताउनुभयो । आँफुहरु लकडाउनको समयमा र त्यस अघि पनि खासै कतै नगएको भए पनि कोरोना संक्रमण देखिएर त्यसलाई जित्न सफल भएको उहाँको भनाई छ । कोरोना संक्रमणले मान्छे मरीहाल्ने भन्ने नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो “कोरोना लाग्ने बित्तिकै मान्छे मरीहाल्ने भन्ने होईन । म गर्भबती हुँदा त तीन÷चार दिनमानै रिकोभर भए । तपाईहरु पनि आत्तिनु पर्दैन तातोपानी खाने र विश्वास वढाए सन्चो भईन्छ ।”
कोरोना संक्रमण देखि पनि आत्मबल वढाएर चिकित्सकको सल्लाहा बमोजिमका कृयाकलापहरु गरे यसलाई जित्न सहज हुने उहाँले जानकारी दिनुभयो । आँफुहरु जेठ ९ गते चितवनबाट हेटौडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परिक्षणका लागि नमुना लिई सकेपछि घर गएको र नतिजा आउँदा पोजेटिभ आए पछि उपचारका लागि यहाँ आएको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालको सेवा सुबिधाबाट आँफु सन्तुष्ट रहेको उहाँको भनाई थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँको नमुना लिईएको एक साता पछि शुक्रबार र शनिबार गरि पुनः स्वाब परिक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको हो ।
बिदाई गर्दै आस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमानै सुरक्षित वस्न आग्रह गर्नु भयो । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत उहाँले सुझाब दिनुभयो ।
सोही अबसरमा अस्पतालका प्रसुती बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेलले गर्भबती भएको समयमा कोरोना देखिएर वच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो ।
भरतपुर अस्पतालमा यस अघि पूर्बी चितवनको राप्ती नगरपालिकाका आमा छोराले पनि कोरोना जितेर फर्की सकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना बिषेश अस्पतालमा चार जना संक्रमित राखि उपचार गराई राखिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।