
चितवनः माडी नगरपालिकाको क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई तनाब व्यवस्थापनका लागि योग सम्बन्धी प्रशिक्षण दिईएको छ । माडीका चारवटा क्वारेन्टिनमा रहेका १ सय ५३ जनालाई तनाब व्यवस्थापनका लागि प्रशिक्षण दिईएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले माडीको सोमेश्वर माबि, माडी क्याम्पस, दिवाकर स्मृति बिद्यालय र आधारभूत बिद्यालय गोविन्दबस्तीको क्वारेन्टिनमा रहेका उनीहरुलाई तालिम दिईएको हो ।
जिल्ला बाहिरबाट आएका र बिदेशबाट आएर सार्बजनीक क्वारेन्टिनमा रहेका उनीहरुलाई योग प्रशिक्षण दिईएको नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा रहेकाहरुलाई रोग प्रतिरोधात्मक आयुर्वेदीक औषधि समेत बितरण गरिएको बताउनुभयो ।
माडी आयुर्वेद औषधालय र नगरपालिकाको समन्वयन एबं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा तनाब व्यवस्थापनका लागि तालिम र योग प्रशिक्षण दिईएको हो । औषधालयका प्रमुख रबिशंकर शाहका अनुसार उनीहरुलाई रोग प्रतिरोधात्मक जडिबुटी औषधिहरु निःशुल्क वितरण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. कोपिला अधिकारीले हरेक दिन क्वारेन्टिनमा रहेकाहरुलाई योग प्रशिक्षण दिन सुरु गरिएको बताउनुभयो । उनीहरुलाई हरेक दिन विहान १ घण्टा सुधा कोईरालाले प्रशिक्षण दिनुहुने छ । यस नगरपालिकामा १२ स्थानमा क्वारेन्टिन रहेका छन् । जस मध्ये हाल चारवटा क्वारेन्टिनमा बिदेशबाट आएकालाई राखिएको छ ।
माडीको सोमेश्वर माविको क्वारेन्टिइनमा बसेका ७० जना,माडी क्याम्पसका बसेका १० जना, दिवाकर स्मृति बिद्यालयमा बसेका ४९ जना र आधारभूत बिद्यालय गोविन्दबस्तीमा बसेका २४ जना गरी १ सय ५३ जनालाई प्रशिक्षण तथा औषधि वितरण गरिएको हो ।