चितवनः पश्चिम चितवनको मंगलपुरमा माछा चोरी गरेको बिषयमा झडप हुँदा एक प्रहरी जवान सहित पाँच जना घाईते भएका छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरका ३८ वर्षिय सन्तोष थापा, ५२ वर्षिय गणेश थापा, वडा नम्बर १६ मंगलपुरका २६ वर्षिय दिपेश बजगाई, २३ वर्षिय दिपेन्द्र वजगाई र दङ्गा नियन्त्रण गण हेटौडा दरवन्दि भई रामपुरमा कार्यरत २६ वर्षिय प्रहरी जवान विजय सुनार रहेका छन् । गणेश, सन्तोष र दिपेश दिपेन्द्र दाजुभाई भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार सोमबार राती १० वजे तिर बिबाद हुँदा झडप भएको हो । स्थानीय दिपेश र दिपेन्द्रले पोखरी भाडामा लिई पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिए पछि चोरी गर्नेलाई वजगाई दाजुभाईले लखेटेका थिए । सोही क्रममा वजगाई दाजुभाईले खवर गरेका प्रहरी आए पछि दुई पक्षबिच पोखरी भन्दा केही पर रंगशाला निमाण स्थल नजिकै झडप भएको थियो ।
कोईरालाका अनुसार थापा दाजुभाईले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भिर घाईते हुनुभएको छ । थापा र वजगाई दाजुभाई पनि घाईते भएको उहाँले जानकारी दिनुभयो । उनीहरुको चिवतन मेडिकल कलेजमा उपचार भईरहेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !