चितवनः नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनःसच्याएको छ।
मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी बाहिर ल्याएका हुन्।