काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका छन् । मंगलबार (आज)बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन् ।
‘संक्रमितहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा हेलचेक्र्याई गर्नु हुन्न । जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मानिस रहे सबै रहन्छ’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘आर्थिक गतिवधि भन्दा मानिसको जीवन महत्त्वपूर्ण हो ।’
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो ।
लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहल पहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
ती मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।