काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका छन् । सोमबार ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको हो ।
कांग्रेस सांसद गगन थापा प्रस्तावक रहेको सो प्रस्तावमा सांसद डिला संग्रौला र प्रकाश रसाइली स्नेहीको समर्थनमा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।
कोरोना भाइरसका कारण नेपालले लकडाउन घोषणा गर्दै अन्तर्राष्ट्रिय उडान समेत रोकेको छ । सोही कारणले देश फर्कन चाहने नेपालीहरु समस्यामा परे पनि विदेशमै बस्न बाध्य भइरहेका छन् । त्यसरी समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको हो ।