चितवनः कोरोना भाईरसको संक्रमणहुनु अघि कोरोना बिषेश अस्पताल संञ्चालन गरेको भरतपुर महानगरपालिकामा अहिले सम्म क्वारेन्टाईनको व्यवस्था गर्न सकेको छैन । कोरोना संक्रमणको समयमा भरतपुर महानगरपालिकाको नेतृत्वमा ७२ घण्टामा कोरोना बिशेष अस्पताल निर्माण गरेर नमुना काम गरेको थियो । तर अहिले सम्म पनि एका दुई वडामा बाहेक अन्य वडामा क्वारेन्टाईन व्यवस्था गर्न नसकेको हो ।
देशको मध्येभागमा रहेको चितवन र जिल्लाको मुटु मानिने भरतपुर महानगरमा क्वारेन्टाईनको व्यवस्था नहुँदा बिदेश बाट आएका र छिमेकी जिल्लाबाट आएकाहरु पनि धेरैनै छन् । तर महानगरले अहिलेसम्म व्यवस्थित क्वरेण्टीन बनाउन सकेको छैन । कोही, कसैलाई क्वरेण्टीनमा राख्नुपरेमा भरतपुर महानगरपालिकाले छिमेकी नगरपालिका पठाउने गरेको छ ।
२९ वटा वडा रहेको महानगरमा केही वडामा क्वारेन्टाईन भए पनि अहिलेसम्म कतै व्यवस्थित क्वरेण्टीन बन्न सकेको छैन । आवश्यकता अनुसारको व्यवस्थित क्वरेण्टीन बन्न नसक्दा होम क्वरेण्टीनमै राखिँदै आइएको छ । महानगरपालिकाले तीन जना बेबारिसे व्यक्तिलाई केही समय राखेर मानव सेवा आश्रमलाई बुझाउनेबाहेक अहिलेसम्म अरु कसैलाई क्वरेण्टीनमा राखेको छैन ।
सात वटा पालिका रहेको चितवनमा भरतपुर महानगरपालिकाबाहेक अन्य पालिकाले आ–आफ्नो क्षेत्रमा व्यवस्थित क्वरेण्टीन बनाएका छन् । महानगरपालिकाले आफ्नो क्षेत्रमा क्वरेण्टीन नभएकाले छिमेकमा रहेको कालिका नगरपालिकाको क्वरेण्टीनमा पठाउँदै आएको छ ।
महानगरभित्र क्वरेण्टीन नभएका कारण भरतपुर महानगरपालिका ११ मा झापाबाट आएका एक जनालाई कालिका नगरपालिकाले बनाएको क्वरेण्टीनमा लगेर राखिएको वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो । क्वरेण्टीन नहुँदा समस्या भएपछि वडाले वागेश्वरी नजिकै क्वरेण्टीन बनाउन लागेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन गरेको ४३ दिन पुगिसक्दा समेत भरतपुर महानगरपालिकाले बिरामीलाई क्वरेण्टीनमा राखेर निगरानी गर्नुपर्ने भए पनि अहिलेसम्म आवश्यकता अनुसारको व्यवस्थित क्वरेण्टीन बनाउन नसक्दा समस्या बढ्दै गएको हो ।
भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोसीले हरेक वडामा व्यवस्थित क्वरेण्टीन बनाउन पत्राचार गरिएको जानकारी दिनुभयो । ‘आफ्नो वडामा आफैले व्यवस्थापन गर्न सक्ने गरी क्वरेण्टीन बनाउन हरेक वडालाई भनेका छौँ’, उहाँले भन्नुभयो, ‘सवै वडामा बनाउने काम भइरहेको छ केही बनेका पनि छन् ।’
महानगरबाट किन अर्को नगरपालिकामा पठाएको त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘जो जाहाँ बसेपनि यो ठूलो विषय होइन, कालिकामा पठाएको व्यक्तिको ठेगाना दुवैतिर रहेकोले उता पठाइएको हो । शैक्षिक तालिम केन्द्र, वडा नम्वर १४ र वडा नम्वर २७ मा त्यस्ता व्यक्ति राख्न सक्ने गरी काम भएको छ,’ उहाँले भन्नुभयो, ‘वडा नम्वर १, २, ३ र ११ लाइ लक्षित गरी वागेश्वरीमा बनाउँदै छौँ । ’
भरतपुर महानगरपालिकामा क्वरेण्टीन अर्थात् अन्यको सम्पर्कमा नआएर घरमै राख्ने काम धेरै भएको छ । महानगरपालिकाभित्र सार्वजनिक क्वरेण्टीन नहुनु र होम क्वारेन्टाइनमा हेलचेक्र्याइँ बढ्नुले थप सङ्कट देखिएको छ । होम क्वरेण्टीनको नियम उल्लङ्घन गर्नेलाई सार्वजनिक क्वरेण्टीनमा राख्ने निर्णय भएपनि महानगरपालिकाभित्र क्वारेन्टाइन नहुँदा निर्णय कार्यान्वयन हुन सकेको छैन । भरतपुर महानगरमै अहिलेसम्म व्यवस्थित क्वरेण्टीन बन्न नसक्नुले समस्या बढ्दै गएकोले हरेक वडामा क्वरेण्टीन बन्नुपर्ने माग राखेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको छ । विदेशबाट आउने व्यक्ति अहिले सिधै समाज र परिवारसँग घुलमिल हुन पाउँदैन । पहिले १४ दिन भने पनि अहिले विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले १७ दिन क्वरेण्टीनमा बस्नुपर्ने बताएको छ ।
जिल्लामा सङ्क्रमित व्यक्तिहरु देखिसकेको छ । सङ्क्रमित फेला परेको अवस्थामा होम क्वरेण्टीन मात्रै पर्याप्त नहुने भएकोले सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई निश्चित समयका लागि क्वरेण्टीनमा राख्नैपर्ने हुन्छ ।
भरतपुरमा क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापनका लागि समिति नै गठन पनि भएको छ । जिल्लाका सात वटै पालिकामा पाँच सयभन्दा धेरै होम क्वरेण्टीनमा बसेका थिए । होम क्वरेण्टीनमा बस्नेले नियम पालना गर्न हेलचेक्रयाइँ गरेको सरोकारवालाहरु बताउँछन् ।
सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन लकडाउन गरेको चौथो दिन कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धी क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ सार्वजनिक गरेको थियो ।
मापदण्डमा क्वरेण्टीनको लागि केन्द्रदेखि प्रदेश हुँदै पालिकासम्मका प्रतिनिधिहरुलाई समावेश गरेर विभिन्न समितिहरु पनि गठन गरिएको छ । पालिकाले समिति गठन गरी क्वरेण्टीनस्थलको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने उल्लेख छ ।
मापदण्डमा क्वरेण्टीन भन्नाले कुनै रोगको सङ्क्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी सङ्क्रमित इलाका वा सङ्क्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याइ तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउने उल्लेख छ ।