चितवनः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)का भतिजा दिलिप चन्दलाई प्रहरीले चितवन ल्याएको छ । दिलिपलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट सोमबार राति चितवन ल्याईएको हो ।
जिल्लामा कार्यक्षेत्रमा रहेका प्रहरी संग अभद्र व्यवहार गरेको भन्दै दिलिपलाई यहाँ ल्याईएको हो । जिल्ला ल्याईएका दिलिप प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रमका दाई चन्द्रबहादुर चन्द (विरजंग) का छोरा हुन् ।

बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुना मुक्त गर्न नवलपरासी जिल्ला अदालतलाई वैशाख १२ गते आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोक कुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एसोसियशनको रोहबरमा दिलिपलाई थुना मुक्त गरिएको थियो ।
गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिल्वस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीया दिलिपका बाबु विरजंग नेकपाका पोलिटब्युरो सदस्य एंव मध्यकमाण्ड इन्चार्ज भई विप्लव समूहको गतिविधिमा संलग्न भएको आरोपमा तुलसीपुरमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस !