चितवनः चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।
कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् ।
सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।
रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोकारपोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।
अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीरछानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो । वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए ।

उठाएका सामान कहाँ पुगेका छन् भन्ने अहिलेसम्म खुलेको छैन । केही सामान उनीहरुले घरमा लगेको, केही सामान चितवनकै कुनै एउटा सर्जिकल हाउसलाई बेचेको आरोप छ । तर आरोप लागेकाहरुले उठाइएको सामान भरतपुर महानगरको स्वास्थ्य शाखामा लगेर राखिएको बताउँदै आएका छन् । उनीहरुले सामान चोरी गरेको स्वीकार गरेका छैनन् ।

कोरोना अस्पताल सञ्चालनको जिम्मा भरतपुर अस्पतालले लिइसकेपछि पनि उनीहरूले गएको वैशाख ७ गते राति ९ बजेपछि केही सामानहरू लगेको अर्को भिडियो पनि सार्वजानिक भएको छ । एक जना कर्मचारीलाई कुटपिट गरेको समेत भिडियोमा देखिएको छ ।

कर्मचारीहरुले आफूहरुले समान चोरी नगरेको बताए पनि भिडियो बाहिरिएसँगै अनेक प्रश्न उब्जिएका छन् । ती कर्मचारीले रातको समयमै किन समान प्याक गरे रु चप्पल आफ्नैै खुट्टामा किन नापे रु स्टोर रुममा बलिरहेको बत्ती निभएर किन मोबाइलको बत्ती वालेर समान बोके रु मोबाइलको बत्ती बालेर अरु सामान पनि खोजी खोजी किन लगे रु उज्यालोमा समान प्याक गरेर अँध्यारोमा किन बोकियो रु तीन जनाका लागि तीन वटा पोका किन उस्तै समान जस्तो बराबर प्याक गरियो ।
छानबिन समिति गठन
रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो । यसअघिका बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाटबाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो ।

बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

अस्पतालमा काम गरिरहेका आरोपी तीनै जना कर्मचारीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । त्यो स्थानमा आवश्यक अन्य कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ । भरतपुर अस्पतालले घटनामा संलग्न भनिएका बरालको काज फिर्ता गरिसकेको छ भने महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाइसकेको छ ।

कोरोना अस्पताल सुरु भएदेखि नै काम गरिरहेका तीन जना चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै जागिर छाडिसकेका छन् । काममा समस्या बढ्दै गएपछि १० बुँदे मागसमेत पेस गरेको र माग सम्वोधन नभएको भन्दै गएको वैशाख ११ गते उनीहरूले राजीनामा दिएका थिए । अस्पतालमा अहिले एक जना मेडिकल अफिसर र भरतपुर अस्पतालका एक चिकित्सकले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !