चितवनः भूकम्प गएको पाँच वर्ष पुग्दा पनि जिल्लामा पुननिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदमान व्यवस्थापन तथा स्थानीय पूर्वाधार चितवनले दिएको जानकारी अनुसार आज सम्म जिल्लामा ६६ दशमलब ९१ प्रतिशत लाभग्राहीले मात्र निजी आवास निर्माणको काम सम्पन्न गरि तेस्रो किस्ता बापतको रकम भूक्तानी पाएका छन् ।
कार्यालयका ईन्जीनियर सुजन नेपालका अनुसार जिल्लामा रहेका ७ हजार ७ सय ९७ जना लाभग्राही मध्ये ५ हजार २ सय १७ जनाले तेस्रो किस्ता बापतको रकम भूक्तानी लिई सकेका छन् । यस्तै दोस्रो किस्ता ७६ दशमलब ४५ प्रतिशत अर्थात ५ हजार ९ सय ६१ र पहिलो किस्ता ९५ दशमलब २ प्रतिशत अर्थात ७ हजार ४ सय २३ जनाले निकासा गरेका छन् । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु १ लाख ५० हजार र तेस्रो किस्ताबापत रु १ लाख पाउने गर्दछन् ।
नेपालका अनुसार पछिल्लो समयमा भूमिहिन लाभग्राहीहरुको हकमा वन क्षेत्रमा बस्न पाउने निर्णय र गुनासो सुनुवाईमा थप भएका लाभग्राहीका कारण पहिलो किस्ता लिनेको संख्या वढेको हो । सोही अनुसार दोस्रो र तेस्रो किस्तामा प्रगति ढिला भएको उहाँले बताउनुभयो । वन क्षेत्रको सार्बजनीक जग्गामा बसोबास गरेका १ हजार १ सय १० परिवारको अहिले पहिलो किस्ताको रकम निकासा भईरहेको नेपालले जानकारी दिनुभयो ।
यता भूकम्पका कारण आंशिक रुपमा क्षती भएका घरहहरुको पुननिर्माणको काम भने अपेक्षाकृत रुपमा हुन सकेको छैन । जिल्लामा १ हजार ३ सय ६३ जना आंशिक लाभग्राही भएको भए पनि जम्म २ जनाले मात्र दोस्रो किस्ताको रकम निकासा गरेका छन् ।
पहिलो किस्ता बापतको रकम १ हजार २ सय २९ जनाले निकासा गरेका थिए । उनीहरुले पहिलो किस्ता बापत रु ५० हजार र दोस्रो किस्ता बापत रु ५० हजार पाउने गर्दछन् । आंशिक क्षती भएकाहरुले प्राप्त गर्ने अनुदान रकम कम भएका कारण घर मर्मतको काममा चासो नदिएको नेपालले बताउनुभयो । पहिलो किस्ताको रकम निकासा गरेर पनि घर नवनाई वसेका लाभग्राहीले घरको पुननिर्माण गर्न नचाहेका कारण आंशिक क्षती तर्फ प्रगति हुन नसकेको उहाँको भनाई छ ।
यस्तै लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम फिर्ता गर्न समेत सुरु गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक जनाले रकम फिर्ता गरिसकेका छन् भने अन्य ६ जनाले रकम फिर्ता गर्नका लागि वडा कार्यालयबाट निवेदन लिएर दर्ता गराएका छन् ।
आजभन्दा ठीक पाँच वर्षअघि विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्पका कारण नेपालमा करिब ९ हजार व्यक्तिले ज्यान गुमाएका थिए ।