काठमाडौंः प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अब अदालतमा उपस्थित नगराइ प्रहरी कार्यालयबाटै म्याद थप गर्न पाउने भएका छन् ।

कोरोनाको संक्रमणबाट जोगिन म्याद थपका लागि नयाँ व्यवस्था गरिएको हो । प्रहरीले पक्राउ परेका अभियुक्तलाई बाटो म्यादबाहेक २४ घन्टाभित्र अदालतमा उपस्थित गराइसक्नु पर्ने कानुनी प्रवधान छ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौं भने आइतबारदेखि अभियुक्तलाई म्याद थपका लागि अनिवार्यरुपमा अदालतमा उपस्थित गराउनै पर्ने बाध्यताबाट मुक्त भएको हो ।

सम्बन्धित प्रहरी कार्यालय र अदालतका न्यायाधीशबीच ‘भिडियो कन्फरेन्स’मार्फत् छलफल भएपछि उपयुक्त लागेमा म्याद थप हुने व्यवस्था गरिएको छ ।

भिडियो कन्फरेन्सका लागि परिसरसहित पाँचओटा समूहमा बाँडिएको छ ।

आइतबारमात्रै भिडियो कन्फरेन्सबाट १० पुरुष र दुई महिला गरी १२ जनाको म्याद थप गरिएको थियो भने एकजनाको पक्राउ पुर्जीको लागि अनुमति लिइएको काठमाडौं परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रहरीले कुनैपनि अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएमा यसको कारणसहितको विवरण भिडियो कन्फरेन्स मार्फत् न्यायाधीलाई बताउँछन् ।

न्यायाधीशले अनुसन्धानकर्ता प्रहरीको विवरणअनुसार म्याद थप गर्न उचित लागेमा थप गर्न सक्नेछन् ।

यसअघि भने प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सरकारी वकिलको कार्यालय मार्फत् अदालतमा पेस गरेर म्याद थप गर्दै आएको थियो ।

भिडियो कन्फरेन्समार्फत् म्याद थप हुने भएपछि अदालत लैजाँदा वा फर्काउदा अभियुक्त भाग्न सक्ने सम्भावना नरहने, आर्थिकरुपमा समेत कम खर्चिलो हुनुका साथै समयको पनि बचत हुने देखिन्छ ।

म्याद थप भइसकेपछि मुद्दा दर्ता प्रक्रिया भने सरकारी वकिल कार्यालयमार्फत् नै हुनेछ ।

कोरोना संक्रमणबाट बच्न अपनाइएको यो प्रक्रियाले भोलिका दिनमा निरन्तरता पाउँछ या पाउँदैन त्यो भने समयले नै बताउला ।

प्रतिक्रिया दिनुहोस !