चितवनः लकडाउन संगै बजार नपाए पछि यहाँका कृषकको बारिमा बोटमानै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने चैत ११ गते देखि देश भर लकडाउन गरिएको छ ।

चैत महिनाको मध्यबाट जिल्लाका बिभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी भएका थिए । वारीमा उत्पादन भएको सामग्री बजार लैजान सकीए पनि बिक्रि गर्ने ठाउँ नभए पछि छिप्पिएका केरा बोटमानै पाक्न थालेका हुन । चितवन जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार वन्द भए पछि बारिमानै छिप्पिएका केरा पाक्न थालेका हुन ।

उहाँले भन्नुभयो “चैतको १५ गतेदेखि यहाँको वारीमा केरा तयारी भएको थियो । अहिले बैशाखको पहिलो हप्ता लाग्दा समेत बिक्रि गर्न सकीएको छैन ।” नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान विक्री गर्नको लागि समस्या भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले केरा बोकेको गाडी चलाउन दिएपनि बिक्री गर्ने स्थानको अभावमा बारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकिएको उहाँले बताउनु भयो ।

मार्कण्डे केरा उत्पादक सहकारी सस्थाका अध्यक्ष ध्रुव ढुंगानाले बिक्रीका लागि तयारी अवस्थामा केरा भए पनि बेच्न नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो “ मजदुर लैजान पाइदैन आफ्नो साधनमा जान पाइदैन कसरी बिक्री गर्ने ।” सो सहकारीले २० विगाहा क्षेत्रफलमा लगाएको केरा अब वारीमा नै कुहिएर जाने अवस्था आएको उहाँको भनाईछ । उहाँले थप्नुभयो “उपभोक्ता माझ लैजाने वातावरण भए लगानी डुव्ने थिएन ।”

पूर्बी चितवनका केरा उत्पादक किसान यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि विक्री नहुँदा लाखौंको नोक्सान हुने बताउनु भयो । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्ने समेत थाहा नभएको उहाँको भनाइ छ । सघका पूर्ब अध्यक्ष समेत रहनुभएका सुबेदीले भन्नुभयो “अहिले पनि भारतबाट केरा भित्रिएको छ तर नेपाली केराले बजार पाउन सकेको छैन । ” उहाँले मात्र जिल्लामा ७० बिगाहामा केराखेती गर्दै आउनु भएको छ ।

अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनु पर्ने केरा उत्पादक किसानले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले केरा, फलफूल, तरकारीको साना गाडीलाई वारीबाट बजारसम्म ल्याउन दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । धेरै संख्यामा मजदुर लैजादा, सबैले सवारी साधन लैजादा रोगको संक्रमण फैलन सक्ने भएकाले केही असहजता आएको बताउनु भयो । भिड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था गरेको उहाँको भनाई छ ।

केरा उत्पादन संघको तथ्यांक अनुसार जिल्लामा तीन हजार बिगाह भन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै रु १ अर्ब ५० करोड बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ ।

दुई बर्ष अघि हावाहुरी र असिनाले यहाँ लगाईएको केरा नष्ट गरेको थियो । त्यसको ऋण कृषकले तिर्न नपाउँदै थप नोक्सानी बेहोर्नु परेको हो । यहाँको केराको मुख्य बजार राजधानी काठमाडौं सहित देशका प्रमुख सहरहरु हुन् ।

प्रतिक्रिया दिनुहोस !