चितवनः जिल्लाको जनजीवन सामान्य वनाउन जिल्ला प्रशासन कार्यालय चितवनले औषधी, खाद्यान्न, कृषि तथा पशुजन्य उत्पादन तथा बिक्री वितरण गर्ने फर्महरुलाई नियमित सञ्चालन गर्न अनुरोध गरेको छ । माग र आपूर्तिको सन्तुलन कायम गर्न प्रशासनले औषधी तथा औषधीजन्य वस्तु, स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफुल, माछामासु, दूध तथा दूग्धजन्य पदार्थ, चिनी, तेल, पशुपंक्षीजन्य आहार, इन्धन जस्ता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र बिक्री वितरण गर्ने थोक तथा खुद्रा बिक्री केन्द्र नियमित सञ्चालन गर्न सूचना जारी गरी अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको हस्ताक्षर रहेको सूचनामा ती वस्तुहरु र तिनका कच्चा पदार्थको ढुवानीमा संलग्न सवारी साधनलाई बजार सम्म वा बजारबाट गन्तव्यमा पुग्न आवागमन गर्न दिईने उल्लेख छ । मालसामान पुर्याई फर्केका सवारीलाई त्यस्ता सामाग्रीको बिलबिजकको फोटोकपीका आधारमा सम्वन्धित उद्योग तथा प्रतिष्ठान वा फर्म स्थलसम्म आवतजावत गर्न दिईने भएको छ ।

त्यस्तै उद्योग, कलकारखानामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सामाग्री प्रयोग गरी भीडभाड नहुने गरी सिफ्टको आधारमा जनशक्ती परिचालन गरेर सञ्चालन गर्न समेत आग्रह गरिएको छ । औषधी, स्वास्थ्य संस्था, कृषि, दुध, खानेपानी, इन्धन उत्पादन गर्ने कर्मचारीहरुलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिईने, स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई पनि परिचयपत्रका आधारमा सहज आवतजावत गर्न दिने, ग्यास उद्योगहरुले नियमित उत्पादन गर्ने र त्यसको विवरणहरु जिल्ला प्रशासन कार्यालयमा प्रत्येक दिन बुझाउनु पर्ने निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !