
चितवनः जिल्लामा २५ प्रतिशत बालबालिका पूर्ण खोपबाट बन्चित रहेको पाईएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार खोपको महत्व दुर्गम क्षेत्र सम्म बुझाउन नसक्दा जिल्लामा रहेका ७५ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लिएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा ७५ प्रतिशत बालबालिकाले दादुरा–रुवेलाको खोप लगाए पनि २५ प्रतिशतले लगाएका छैनन् । जिल्लालाई पूर्ण खोप युक्त घोषणा गरिएको भए पनि तथ्याङ्क हेर्नेहो भने अझै खोपबाट बन्चित बालबालिकाहरु रहेका छन् ।
सरकारले सन् २०१९ सम्म दादुरा–रुवेला नियन्त्रित मुलुक घोषणा गर्ने भनिएपनि पनि अभियान सफल नभएपछि सन् २०२३ सम्म पुर्याएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिले सञ्चालन गर्ने खोप अभियान जिल्लामा दुई चरण चल्ने छ ।
सात स्थानीय तह रहेको जिल्लामा पहिलो चरणमा चैत्र २ गतेबाट भरतपुर महानगरपालिका, माडी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा अभियान संञ्चालन गरिने छ । पहिलो चरण चैत्र ७ गते सकीए संगै दोस्रो चरण चैत्र १० गतेबाट सुरु हुँदै छ । दोस्रो चरणमा राप्ती र खैरहनी नगरुपालिकामा अभियान संञ्चालन हुने छ । सो अभियान चैत्र १८ गते सकीने छ ।
अभियानमा ९ देखि २३ महिना उमेर समुहका १७ हजार ६ सय ६ र २४ महिना देखि ५ बर्ष सम्मका ४१ हजार ३ सय ७६ जना गरी ५८ हजार ९ सय ८३ जना बालबालिकालाई खोप लगाइने कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा ५ सय ६८ खोप केन्द्रमा १ सय ३२ स्वास्थ्यकर्मी, १ हजार १ सय ३६ जना स्वयमसेवक गरि १ हजार २ सय ६८ जना परिचालन हुने छन् । कार्यालयको तथ्याङ्कमा बिसिजि खोप ९२ प्रतिशत र डिपिटि खोप ७७ प्रतिशत बालबालिकाले लगाएका छन् ।
जिल्लाका अस्पतालहरुमा प्रसुति गराउन आउने महिला बाहिरी जिल्लाबाट समेत आउने गर्दछन् ।