मुलुकी अपराध संहीता लागु भए संगै जिल्लामा चेक अनादार तथा बैङ्किङ कसुरका घटनाहरु बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीन वर्षिय तथ्याङ्क हेर्ने हो भने यो मुद्धा दर्ता हुने क्रम बढ्दो संख्यामा रहेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को माघसम्म बैङ्किङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ साल भदौबाट सुरु भएको यो संहीताका कारण बैङ्किङ कसुरमा मुद्धाहरु दर्ता हुने क्रम बढेको हो । संहीता लागु भएको बर्ष बैङ्किङमा ६२ वटा मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७४/०७५ मा बैङ्किङ कसुर सम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोबार सँगै बैङ्किङ कसुरका मुद्धाहरु वढ्दै गएको बताउनु भयो । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिकहरु पीडित हुँदै गइरहेको उहाँको भनाई छ ।
जिल्लामा बैङ्किङ कसुर सम्बन्धी मुद्दा बढ्दै गएको भएपनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उहाँले बताउनुभयो ।