चितवनः राप्ती र नारायणी नदीमा तीन वटा गोही मरेको अबस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भंगलाहरुमा गरिएको अनुगमनका क्रममा सात वटा गोही जालमा बेरीएको अबस्थामा समेत फेला परेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बेदवहादुर खडकाका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको वाराही होटल नजिकै एउटा गोही मृत अबस्थामा भेटिएको हो । ती गोही मर्नुको कारण पत्ता लगाउन पोष्टमाटमका लागि अंग पठाईएको छ । उहाँले भन्नुभयो “मर्नुको कारण यहाँ पत्ता नलागे बिदेशी बिज्ञहरु संग समेत परामर्श गर्ने तयारीमा छौं ।” ती तीनै वटा गोही गत साल नदीमा छाडेका हुन ।
यस अघि यसै बर्ष दुईवटा गोही मरेको अबस्थामा भेटिएको थियो । खड्काका अनुसार भदौमा राप्तीको ढुग्रे खोलामा पुछर र सेटेलाईट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडाम सहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुबै गोही सेटेलाईट जडान गरि छाडीएका हुन । मानिसले गोही मारेर खाएको आशंका समेत गरिएको खडकाको भनाई छ ।
यस्तै राप्तीमा चारवटा र नारायणीमा तीन वटा गोही जालमा बेरीएको अबस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजैबाट थालिने निकुञ्जले जनाएको छ । मुखमा बेरीएको अबस्थामा गोही फेला परेका हुन । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।
राप्ती र नारायणी नदीमा भाले गोही नभए पछि ववहीबाट एउटा भाले गोही ल्याईएको थियो । अहिलेको अनुगमनका क्रममा बबहीबाट ल्याईएको सहीत तीन वटा ठूला र दुई वटा साना भाले गोही देखिएको खडकाले जानकारी दिनुभयो । यस संगै नदीमा भाले गोहीको अभाव हटेको छ ।
निकुञ्जले दुई नदी र भंगलालाई १३ भागमा बिभाजन गरेर अनुगमन गरेको थियो । १२ वटा टोलिले डुङ्गा मार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिन सम्म गरिएको अनुगमन शनिवार साँझ सकीएको हो । अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका बिज्ञ सहीत ६५ जना सहभागी रहेका थिए । निकुञ्ज बाहीरको नारायणी नदीको देवघाट देखि सिख्रौली घाट सम्म केही दिनमानै अनुगमन गरिने खडकाले जानकारी दिनुभयो । अनुगमनका क्रममा नारायणीको भेलौजीमा एउटा डल्फीन समेत भेटिएको थियो ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हाल सम्म १ हजार ४ सय ६५ वटा गोही छाडी सकिएको छ । जस मध्ये राप्तिमा मात्र ७ सय ८५ गोही छाडीएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । यस वर्ष यसै महीनाबाट प्रजनन् केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि संख्या वढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदुषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिंदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !