चितवनः चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई वटा गैंडा कालगतिले मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैडाको संख्या १३ पुगेको छ । जसमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८÷२० वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो । अर्काे एक गैंडा सुखीभार क्षेत्र नजिक मृत अवस्थामा फेला परेको छ । उहाँका अनुसार सो गैंडा ३० वर्षको पोथी हो ।
निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैंडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । अर्काे गैंडा मर्नुको कारण खुल्न सकेको छैन ।
गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा २६ र २०७३÷०७४ मा २५ वटा गैंडा कालगतिले मरेका थिए । गैंडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारयण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । विगत केही वर्ष यता चोरीशिकारीबाट गैंडा मारिएका छैनन् । तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ ।
यसैगरी माउले छोडेका दुई वटा बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्काे चार महिनाको भाले बच्चा सौराहा नजिकैबाट उद्धार गरी राखिएको छ ।