चितवनः चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा पुष महिनामा मात्रै तीनवटा गैंडा मृत भेटिएका छन् । निकुञ्जका अनुसार यस महिनामा मृर्त भेटिएका सबै निकुञ्ज क्षेत्रमा हो ।
साउन महिना यता कालगतिका कारण १० वटा गैंडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने बनकट्टाको भलुवाई खोलामा एउटा गैंडा मृत अबस्थामा भेटिएको छ ।
निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार घाईते गैंडा मरेको सुचना प्राप्त भएको छ । सो गैंडाको पोष्टमार्टमका लागि प्राबिधिक टोलि सहित आँफु त्यस तर्फ जान लागेको उहाँले जानकारी दिनुभयो । केहीदिन अघि सो गैंडा घाईते भेटिए पछि निगरनीमा राखिएको थियो ।
घिमिरेका अनुसार साउन यता निकुञ्ज क्षेत्रमा ८ वटा र राष्ट्रिय वन क्षेत्रमा २ वटा गैंडा कालगतिले मरेका छन् । गत वर्ष कालगतिले ४३ वटा गैंडा मरेका थिए । अघिल्ला वर्षहरुमा वार्षिक सरदर २५ हाराहारी गैंडा कालगतिले मर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
गैंडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, वुढो भएर मर्ने गरेका छन् । कालगतिले गैंडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षहरुमा जोगिएको छ । शशस्त्र द्धन्द्धका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटा सम्म गैंडा मारेका थिए । पछिल्लो गणना अनुसार देशभर ६ सय ४५ गैंडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा फेला परेका थिए ।
यस वर्षको चैत्रमा गैंडा गणना गरिदै छ । पछिल्ला वर्षहरुमा कालगतिले गैंडा मर्ने क्रम वढेपछि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !