
चितवनः नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकहरुलाई रिहाईको माग गरेको छ । संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच जना अगुवा कृषकहरुको रिहाईको माग गरेको हो ।
संघका अध्यक्ष शिबराम केसीले सप्लायर्सहरुले आँफुखुशी मुल्य निर्धारण गरेको बिषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकहरुलाई झुट्टा मुद्धा लगाई फसाउने काम गरिएको दाबि गर्नुभयो । संघले निर्धारण गरेको मूल्य भन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरि उनीहरुले निर्णय गरेको संघको आरोप छ ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रहरीले कुखुरा पालक कृषकहरु प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दिपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ पछि मुद्धा दर्ता गरेको छ । सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरु मारमा परेको जानकारी गराईएको थियो ।
संघले मङ्सिर १ गते देखि लागु हुने गरि नयाँ मूल्य सूची सार्वजनीक गरेको भए पनि सो मूल्यमा कृषकको फर्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलीयाको प्रभाबमा प्रशासनले कृषकहरुलाई नियन्त्रर्णमा लिएको उनीहरुको आरोप छ ।
केसीले कृषकहरुले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य रु २ सय ७५ र मध्यमको रु २ सय ५५ तोकेको भए पनि सप्लायर्सहरुले कम मूल्य राखेर प्रचार प्रसार गरेपछि बिबाद बढेको जानकारी दिनुभयो । अण्डाको लागत मूल्य रु ११ पर्ने भए पनि बिचौलीयाका कारण कृषकले लागत मूल्य समेत नपाएको केसीको भनाई थियो ।