चितवनः कुखुराको मासुमा बिचौलियाको प्रभाब घटाउन र खपत बढाउन सहकारी मार्फत बिक्रि केन्द्रहरु खोलिने भएको छ । नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रसोधन र बिक्रि केन्द्र संञ्चालनमा ल्याउन लागिएको हो ।
हाल कृषकको फर्मबाट जिउँदो कुखुरा मूल्य रु १ सय ६० मा खरिद गरेर तयारी मासुको मूल्य रु २ सय ६० सम्ममा बिक्रि गर्ने गरेका छन् । संघले ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञान बहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर काम अघि वढाएको छ । संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार ह्याचरीका संञ्चालक, कृषक, कुखुरा व्यवसायी लगाएत सदस्य रहेको सहकारी स्थापना गरि सोही सहकारी मार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लाको कुनै एक स्थानमा कम्तिमा १० कठ्ठा जग्गा खरिद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ ।
सोही ठाउँमा ठूलो चिस्यान केन्द्र तयार गरिने छ । यस संगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र सोहीबाट बन्ने परिकारहरुको बिक्रि केन्द्र संञ्चालन गर्न लागिएको पोख्रेलले जानकारी दिनुभयो । यसको प्रभाब हेरेर देशै भर सहकारी मार्फत बिक्रि केन्द्रहरु स्थापना गरिने उहाँको भनाई छ ।
बिसुराल संयोजक रहेको समितिले सहकारी दर्ता र मासु प्रसोधन केन्द्रका लागि जग्गा खोज्नेकाम गरिरहेको छ । सहकारी मार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एबं परिकार उपभोक्तालाई दिने जनाईएको छ ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरिद गर्दा महंगो मूल्य तिर्न बाध्य हुनु परेको छ । ह्याचरी उद्योगी, ब्रोईलर पाल्ने कृषक र उपभोक्ता सधै मर्कामा परेको एवं व्यवसाय धरासाही हुँदै गए पछि आफ्नै प्रसोधन र बिक्रि केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन ।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशै भरका ह्याचरी उद्योगहरुले आईतबारबाट दश दिन सम्म चल्ला उत्पादन बन्द गरेका छन् । हाल चल्लाको बजार मूल्य रु ३० रहेको छ । यसको लागत मूल्य रु ५५ पर्ने व्यवसायीहरु बताउँछन् ।