चितवनः अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल ईकाई र अस्पताल प्रशासन विच सहमति भएको छ । सहमति संगै कर्मचारीहरुले हालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् । यूनिनयका केन्द्रिय अध्यक्ष संञ्जय वरालका अनुसार अस्पतालका तर्फवाट प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवार, आन्दोलनरत कर्मचारीहरुका तर्फवाट केन्द्रिय अध्यक्ष वराल, ईकाई अध्यक्ष ई. चन्द्रमणी वस्याल लगाएतको सहभागितामा भएको वार्ताका क्रममा अस्पताल विकास समितिका कर्मचारीहरुलाई तत्काल करारनामा थप गर्ने र असोज १० गते भित्र नेपाल सरकारको नियम अनुसारको खाईपाई आएको तलव भूक्तान गर्ने सहमति भएको हो ।

सहमति पश्च्यात कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरुलाई हालका लागि स्थगित गरेका हुन । विभिन्न ११ वुद्धे मागहरु राख्दै अस्पताल विकास समिति यूनियन भरतपुर अस्पताल ईकाई समिति गत भदौ २० गते देखि आन्दोलनरत थियो । उनीहरुले कर्मचारीहरुको असार मसान्त पछि रोकिएको करार नविकरण गरि वढ स्केल अनुसारको तलव भत्ता निकासा गरीनुपर्ने, सम्पूर्ण कर्मचारीहरुलाई चाडपर्व खर्च,पोशाक भत्ता र महंगि भत्ता उपलव्ध गराईनु पर्ने, सार्वजनिक विदा वाहेक वार्षिक रुपमा संञ्चीत हुने गरी मासिक १ दिन विदा दिनु पर्ने, सुत्केरी विदा र सुत्केरी स्याहार विदा सरकारको नियम अनुुसार उपलव्ध गराईनु पर्ने लगाएतका मागहरु राख्दै आन्दोलन गरिरहेका थिए । चाड पर्व नजिकिए संगै कर्मचारीहरुको आन्दोलन शशक्त वन्न थालेपछि अस्पताल प्रशासनले वार्तामार्फत समस्याको समाधान खोजेको हो ।

प्रतिक्रिया दिनुहोस !