चितवनः चरन अभावमा मौरीपालन व्यवसाय संकटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तहहरु बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको हो ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार स्थानीय तहहरुले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको मौरी ल्याउन नदिने, मौरीलाई विष राखीदिने जस्ता समस्या देखा परेका छन् ।

कतिपय स्थानीय तहले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै अनुमति समेत दिन आनाकानी गर्ने गरेको किसानहरुको गुनासो छ । यस्तै उत्पादित महले समेत बजार पाउन कठिन भएको पौडेलको भनाई छ । यस वर्षको उत्पादन शुरु हुनै लाग्दा गतवर्षको २० टनभन्दा बढी मह बिक्री हुन नसकेको पौडेलले बताउनुभयो । गतवर्ष नेपालमा ३ हजार पाँच सय मेट्रिकटन मह उत्पादन भएको थियो । त्यति नै हाराहारी महल भारत र चीनबाट आयात भएको जनाईएको छ । आयात भएको महमध्ये कतिपयमा अखाद्य वस्तु मिसाईने गरेको पौडेलले बताउनुहुन्छ ।

मौरीपालन विकास कार्यक्रम प्रदेश नं. ३ भण्डाराका प्रमुख शिव रिजाल देशका उत्तर दक्षिणी क्षेत्र जोड्ने गरी सडकमार्ग बनाउन सकेमा चरनको समस्या हट्ने बताउनुहुन्छ । पहाडी क्षेत्रमा रुदिलो हुने गरेको भए पनि सडकको अभावमा मौरी पु¥याउन कठिन भएको उहाँले बताउनुभयो । मुख्य रुपमा चिउरी, तोरी, तोरा, सिसौ, रुदिलो, सूर्यमुखी मौरीका आहारा हुन् ।

चिउरीका लागि दाङ, प्युठान, चितवनको शक्तिखोर र सिद्धि, मकवानपुरको राक्सीराङ मुख्य क्षेत्र हुन् । तर ती क्षेत्रमा एक ठाउँबाट अर्काे ठाउँमा मौरी लैजान कठिन हुने गरेको गुनासो आएको रिजाल बताउनुहुन्छ ।

नेपालमा मौरी पालन गर्ने किसानको संख्या पाँच हजार हाराहारी छ । उनीहरुले उन्नत जात मेलिफेरा ७० हजार घार र स्थानीय जात सेराना एक लाख २५ हजार घार पाल्ने गरेका छन् ।

नेपालमा वार्षिक २० हजार मेट्रिकटनसम्म मह उत्पादन गर्ने चरन क्षेत्र रहेको भए पनि यातायात सुविधा नहुँदा हाल रहेको थोरै मौरीमा पनि चरन समस्या रहेको रिजाल बताउनुहुन्छ । महलाई आत्मनिर्भर बनाउन संघ, प्रदेश र स्थानीय सरकारले सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उहाँको भनाई छ । नेपाली बजारमा सेरानाको महल प्रतिकिलो रुं एक हजारदेखि एक हजार ६ सयसम्ममा बिक्री हुने गरेको छ भने मेलिफेराको रु. ४ सयदेखि ८ सयसम्ममा बिक्री हुने गरेको छ ।

किसानले भने प्रतिकिलो रु.२५० देखि ३०० मा पनि बिक्री नभएपछि थन्काउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस !