चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था हटाउनका निम्ति भारतीय गुप्तचर संस्था रअले नेपाली नेता प्रयोग गरेको आरोप लगाउनु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले रअले तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गरी राजसंस्था हटाउन महत्वपूर्ण भूमिका खेले उहाँको आरोप थियो ।
नेपालको राजनितिमा विदेशी संस्थाले निर्णायक भूमिका खेल्नु सामान्य कुरा नभएको उहाँको भनाई थियो । यो विषय चर्चाको विषय मात्रै नभएर छानविनको विषय समेत वनेको उहाँले वताउनु भयो ।

उहाँले यस विषयमा सर्वपक्षीय सर्वदलीय छानविन समिति गठन गर्नुपर्ने भन्दै भन्नुभयो “यस विषयमा सर्वदलीय उच्चस्तरीय संसदीय छानविन समिति गठन होस् भन्ने माग गर्दछु ।” उहाँले अगाडि थप्नुभयो “यससँगै धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपालमा स्थापित गर्ने क्रममा बाह्य शक्तिको भूमिका र अभिप्रेरणा रहेको हामीले पटक पटक भन्दै आईरहेका छौं ।” विभिन्न स्रोतहरुबाट यस विषयमा बाह्य संलग्नता पुष्टि हुँदै आएको उहाँले दावी गर्नुभयो ।

एउटा विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा महत्वपूर्ण निर्णायक भूमिका खेलेको र यसमा राजनीतिक दलका नेता प्रयोग गरेको विषय साधारण नभएको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा उहाँले धर्म परिवर्तनको कार्यलाई समयमा नै नियन्त्रण गर्न नसकेमा सामाजिक सद्भाव र एकतामा खलल पुगी देश डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने खतरा रहेको उहाँको भनाई थियो । धर्म निरपेक्षताका लागि सरकारले जनमत संग्रह गर्नु आवश्यक रहेको उहाँले वताउनु भयो । हिन्दु राज्यको माग गर्दै राप्रपाले दशै तिहार पछि राष्ट्रिय स्वाभिमान यात्रालाई निरन्तरता दिने र चतराधाम देखि गणकी प्रदेशको त्रिवेणी धाम सम्म हिन्दु राष्ट्र निर्माणका लागि संकल्प यात्रा तय गरेको उहाँले सो अवसरमा जानकारी दिनु भयो । उहाँले भन्नुभयो “हाम्रो लक्ष्य धर्म निरपेक्षता अन्त्य नै हो ।”

पत्रकार सम्मेलनमा वोल्दै उहाँले सरकारले जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिलाउन नसकेको आरोप लगाउँदै उहाँले त्रुटी र कमिकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । जसका कारण भ्रष्टाचार, वेरोजगार मौलाउँदै गएको छ उहाँले भन्नुभयो ।
नेपालगञ्जबाट दैलेख पठाईएका गाईको हत्या गरिएको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न उहाँले माग गर्नुभयो । अहिले सरकार र नेपालगञ्जको उपमहानगरपालिकाले छानविन समिति गठन गरेको वताउँदै उहाँले सो विषयमा समितिको प्रतिवेदन आए पछि आफुहरुले कार्यक्रम तय गर्ने जानकारी दिनु भयो ।

प्रदेश सरकारले यथाशिघ्र स्थायी राजधानी तय गर्नुपर्ने भन्दै उहाँले प्रदेश नं. ३ का लागि हेटौंडा नै उपयुक्त रहेको बताउनुभयो । तत्कालीन सरकारले सवै कुरालाई मुल्याङ्कन गरि प्रदेशको अस्थायी राजधानि तोकेको वताउँदै उहाँले सोहि स्थान नै उपयुक्त रहने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !