चितवनः भरतपुर महानगरमा अपेक्षा अनुसारको धान रोपाई हुन सकेको छैन । सहत सिचाई प्रभावकारी वन्न नसक्दा महानगरको खेति योग्य जमिनको २० प्रतिशत क्षेत्र वाँझै रहेको छ । खगेगरी सिचाई आयोजना र नारायणी लिफ्टवाट प्रयाप्त पानी नहुँदा महानगरको सो क्षेत्रमा रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ ।
सतह सिचाई भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाई हुन सकेको छैन । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिवेला ९८ प्रतिशत रोपाई भएकोमा यस वर्ष ९० प्रतिशत मात्र रोपाई भएको हो ।
जिल्लामा २८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा २५ हजार ८ सय हेक्टरमा मात्र धान रोपाई भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा रोपाई शत प्रतिशत भएको भए पनि अन्य तीन वटा तहमा पानीको अभावका कारण लक्ष्य अनुसारको रोपाई हुन नसकेको हो ।
भरतपुर महानगरपालिकामा सवैभन्दा कम क्षेत्रफलमा रोपाई भएको छ । महानगरमा अहिले सम्म ८० प्रतिशत मात्र रोपाई भएको श्रेष्ठले जानकारी दिनु भयो । यस्तै कालिका नगरपालिकामा ९६ प्रतिशत, ईच्छाकामना गाउँपालिकामा ९० प्रतिशत मात्र रोपाई भएको छ ।
रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकामा भने शत प्रतिशत भएको उहाँले वताउनु भयो । भरतपुर महानगरका अधिकांश क्षेत्रमा सतह सिचाई गर्नु पर्ने भएकाले रोपाई कम भएको हो । यस क्षेत्रमा खगेरी नहर र नारायणी लिफ्टवाट प्रयाप्त मात्रामा पानी नजाँदा रोपाई कम भएको श्रेष्ठले वताउनु भयो । पश्चिम चितवनको खेति योग्य जमिनमा नारायणी लिफ्टले ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्दै आएको छ भने अन्य क्षेत्रमा खगेरी सिचाईको पानी प्रयोग हुने गरेको छ ।
कार्यालयका वाली विकास अधिकृत माधव पौडेलले रोपाई कम भए संगै उत्पादनमा समेत कमि आउने वताउनु भयो ।