चितवनः कोरोना सङ्क्रमण वढ्दै जाँदा एचआईभी सङ्क्रमितहरुलाई घरघरमा औषधि पु¥याइएको छ । कोरोना सङ्क्रमणका कारण औषधि लिन आउन नसकेर घरमानै वसिरहेका सङ्क्रमितहरुका लागि भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालले घरमानै औषधि पु¥याउने व्यवस्था गरेको हो ।
कार्यालयमा कार्यरत दुई जना कर्मचारी र बिभिन्न संघ संस्थाको सहयोगमा सङ्क्रमितको औषधि पु¥याईएको हो । नवलपुर देखि गोरखा सम्म रहेका सङ्क्रमितहरुलाई भरतपुर अस्पतालमा रहेको यस संस्थाका कर्मचारीहरुले औषधि पु¥याउने गरेका हुन । केन्द्रका प्रमुख कृष्णहरि सापकोटाका अनुसार चितवन, लमजुङ्, तनहँु, गोरखा, नवलपुर र मकवानपुरमा रहेका सङ्क्रमितहरुलाई नियमित औषधि पु¥याउँदै आईएको हो । उहाँले भन्नुभयो “यहाँ आउन नसक्नेहरुलाई चैत देखि यता हामीले औषधि पठायौं ।” उहाँका अनुसार केन्द्रबाट औषधि खाने ९ सय ५६ जना रहेका छन् । जस मध्ये ३० प्रतिशत हाराहारीले केन्द्रमा आएर औषधि लगे भने बाँकीलाई घरघर औषधि पु¥याईयो ।
यस अबधिमा १ हजार १ सय ५० पटक औषधि पु¥याईएको छ । अधिकांशको घरमा दोहो¥याएर औषधि पु¥याईएको हो ।
ती मध्ये कतिपयलाई बिभिन्न संघ संस्थाको सहयोगमा औषधि पु¥याईएको हो । औषधि बितरणमा लागि नवलपुरमा लुम्बिनी प्लस र चितवनमा सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान, राष्ट्रिय एड्स महासंघले औषधी पु¥याउन सहयोग गरेका थिए ।
सन २०२० को जनवरी यता जिल्लामा एचआईभी एड्स सङ्क्रमितको संख्या ६० जना थपिएका छन् । यस अबधिमा ५ हजार ७ सय ६३ जनाको एचआईभी परिक्षण गरिएको थियो । ती मध्ये सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका हुन ।
जिल्लामा १ हजार १६ जनामा एचआईभी सङ्क्रमित पुगेका छन् ।






