चितवनः गोरखा पत्र दैनिककी चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्ष अघि सम्म आजको दिन नारायणगढ बजारमा समाचार संकलन र नाचगानमा भ्याई नभ्याई हुने गर्दथ्यो । नारायणगढको शहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेज संगै झण्डा फहराउँथे ।
अधिकारीले स्मरण गर्दै भन्नुभयो “सधै जसो शहिदचोकमा नेपाली काङ्ग्रेस निकट महिला संघको तीज गित कार्यक्रम हुने गर्दथ्यो ।” पुलचोक र लायन्सचोकमा नेकपा एमाले, माओवादी लगातएका पार्टी निकट महिला संगठनले कार्यक्रमको आयोजना गर्दथे । साना दलहरु संगै सामाजिक संघ संस्थाले पनि बजारमा कार्यक्रम गर्ने गर्दथे । वि.सं. २०६२–०६३ को जनआन्दोलन पछि क्रमशः यो क्रम घटेर गएको उहाँको भनाई छ । पछिल्ला वर्षहरुमा दल निकट महिलाहरुले आन्तरिक रुपमा जिल्ला र पालिकाहरुमा कार्यक्रम गर्न थाले संगै सडकमा तीजको रौनकता घट्दै आएको हो । त्यसो त रेडीयोहरुमा तीज गित प्रतियोगीता हुने गर्न थालेको थियो ।
कालिका एफ एमका निर्देशक दिपक पौडेल एक सय समुह प्रतिशपर्धामा सहभागी हुने गरेको स्मरण गर्नुहुन्छ । प्रतियोगिता प्रतिश्पर्धी हुँदै जाँदा पुरस्कारको राशि वढाएर रु ५० हजार सम्म पुगेको पौडेलको भनाई छ । सबै रेडीयोहरुले प्रतिश्पर्धा गर्ने र पुरस्कार राशि वढ्दै गए पछि स्थानीय प्रशासनले प्रतियोगीता नगरेर कार्यक्रम गर्न निर्देशन गर्नु परेको थियो । पछिल्ला केही वर्ष यता तीज गित कार्यक्रम मात्रै गरिएको पौडेलको भनाई छ । प्रतियोगिता हुँदा चितवन, नवलपरासी, तनहुँ लगाएतका जिल्लाबाट सहभागी हुने गरेका थिए । गत वर्ष र यस वर्ष भने यस्ता प्रत्यक्ष कार्यक्रम कोभिडका कारण हुन सकेका छैनन् । पौडेल भन्नुहुन्छ “तीजको रौनकता हुँदै गर्दा आजको दिन रेडीयो अगाडी खुट्टा टेक्ने ठाउँ हुदैन थियो ।”
नेकपा एमाले चितवनकी अध्यक्ष पार्बती रावल सुरु सुरुमा गाउँगाउँमा पारिवारीक वेदना समेटिएका गितहरु गाइने गरेकोमा पछिल्लो समय राजनैतिक बिषय बस्तुमा केन्द्रित भएर तीज गित हुने गरेको बताउनुहुन्छ । बि. सं. २०४६ देखि २०६२ सम्मको समयमा वजारमा ठूला ठूला कार्यक्रम गरेर राजनैतिक बिषय बस्तु केन्द्रित तीज गित कार्यक्रम हुने गरेको उहाँले स्मरण गर्नु भयो । पछिल्ला वर्षहरुमा संगठनले जिल्ला र पालिका स्तरमा कार्यक्रम गरेकोमा अहिले दुई वर्ष कोभिडका कारण कार्यक्रम हुन नसकेको बताउनु हुन्छ ।
नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्बती शाह ठकुरी बजारमा टेन्ट टागेर भव्य कार्यक्रम सहित तीज मनाउने गरेकोमा पछिल्ला वर्षहरुमा शैली परिवर्तन भएको बताउनुहुन्छ । संघले पछिल्ला वर्षहरुमा पार्टी कार्यालय अगाडी नाचगान गरेर तीज मनाएकोमा गत वर्ष र यस वर्ष भने सुनसान भएको बताउनुभयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष संगीता भट्टराई पहिला पहिला तीजमा भ्याई नभ्याई हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा त्यस्तो नभएको बताउनुहुन्छ । पछिल्ला दुई वर्षमा कोरोना सङ्क्रमणका कारण सिमित घर भित्र मात्रै कार्यक्रम भएको उहाँको भनाई छ । समग्रमा पहिलेको तुलनामा तीजको रौनकता हराएको उहाँले बताउनुभयो ।
सुरु सुरुमा गाउँमा सामाजिक परिवेश समेटीएका गित गाएर तीज मनाउने गरिएको थियो । बिचका केही वर्ष राजनैतीक बिषय तीजका गितमा समेटीएका थिए । पछिल्ला वर्षहरुमा होटल र पार्टी प्यालेस केन्द्रित तीज हुने गरेका थिए । एक महिना पहिले देखि होटल र पार्टी प्यालेसमा तीज मनाउन थाले पछि स्थानीय प्रशासनले रोक्न बाध्य भएको थियो ।
सामाजिक अभियान्ता मिना खरेल मौलिक तीज तर्फ फर्कनु पर्ने बताउनुहुन्छ । दुःख सुख साटेर तीजले व्यक्तित्व र नेतृत्व बिकास गर्ने गरि पर्ब मनाउनु पर्ने खरेलको भनाई छ । तीजको बिकृती बढ्दै गए पछि रोक्नु पर्ने माग महिलाहरुलेनै उठाउनु परेको खरेलले बताउनुभयो । तीज पर्वलाई जीवन्त राख्नु पर्ने महिलाहरु बताउँछन् । आजको दिन निराहार व्रत वसेर दिनभर नाचगानमा रमाइलो गर्ने गरिन्छ । समय र परिवेश अनुसार तीज मनाउने शैली परिवर्तन हुँदै गएको छ । संस्कृती संरक्षण हुने गरि यो पर्वलाई मनाउनु पर्ने महिला अगुवाहरु बताउँछन् ।
गत वर्ष र यस वर्ष सिमित परिवारमा केन्द्रित भएर यो पर्व मनाइदै छ ।






