चितवनः जिल्लाका ठूला मेडीकल कलेज र सरकारी अस्पतालमा अहिले कोरोनाका बिरामीहरुको चाप वढ्दै गएको छ । जिल्लामा देखिएको कोरोनाको दोस्रो लहरमा युवा र किशोरकिशोरी बढी प्रभावित भएका छन् ।
गत वर्षको कोरोनो सङ्क्रमणको अवस्था हेर्दा युवा र किशोरकिशोरी भन्दा वृद्धवृद्धाको सङ्ख्या बढी पाइएको थियो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी रहेका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा ३८ जना र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये तीन अस्पतालको भेन्टिलेटरमा ८ जना, आईसीयूमा २४ जनाको उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा कोरोनाको उपचारमा अग्रपङ्क्तिमा खटिएका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलका अनुसार कोरोना सङ्क्रमण गत वर्ष भन्दा किशोर किशोरी र युवायुवतीमा बढी देखिएको छ । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दर र लक्षण हेर्दा कोरोनाको नयाँ प्रजाति जस्तै देखिन्छ । औपचारिकरुपमा प्रयोगशालाबाट पुष्टि नभए पनि यो नयाँ प्रजाति नै हो ।” सङ्क्रमित किशोर किशोरी र युवाहरुको पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता परेको उहाँले बताउनुभयो ।






