चितवनः नेपालका लागि पाकिस्तानी राजदुताबासले नेपाल नेत्रज्योती संघद्धारा संञ्चालित भरतपुर आँखा अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ । राजदूत अब्रार एच. हासमीले आज एक कार्यक्रमका बिच भरतपुर आँखा अस्पतालको कागज रहित प्रबिधिको विकासका लागि रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सो रकम राजदुत हसमीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा राजदूत हासमीले स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्ने बताउँदै अस्पतालले विभिन्न गाउँ–बस्तीमा पुगेर सेवा प्रदान गरेकोप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँले निरन्तर प्राप्त हुँदै आएको सहयोगले अस्पताललाई आधुनिक, दक्ष आधुनिक प्रविधितर्फ अघि बढ्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । विगतमा झै आगामी दिनमा पनि आँखा उपचारमा पाकिस्तान सरकारका तर्फबाट नियमित सहयोग आदान प्रदान हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्थापना काल देखिनै अस्पताललाई पाकिस्तान सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । वि. सं. २०४४ सालामा अस्पताल भवन निर्माण पाकिस्तानी सरकारका तर्फबाट गरिएको थियो । यस्तै रु ३० लाख वरावरको फेको मेसीन, रु ४० लाख वरावरको फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन, नयाँ भवनमा मोडुलर शल्यक्रिया लगाएतमा रु २ करोड वरावरको पाकिस्तानी सरकारले सहयोग गरेको थियो । त्यसैगरी रु ६६ लाखमा पिकअप भ्यान समेत खरिद गरिदिएको श्रेष्ठले वताउनुभयो ।
सो अबसरमा राजदुताबासका हेड अफ चान्सरी मुहम्मद जाकिर खान, प्रोटोकल अफिसर प्रभाकर दाहालको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल नेत्रज्योती संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के सहित संघका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी र सदस्य एबं अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरणका अबसरमा अस्पतालका गतिबिधिका बारेमा मेडीकल डाइरेक्टर सह–प्रध्यापक डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिनुभएको थियो ।








