चितवनः यतिखेर देश निर्वाचनमा होमिएको छ । हरेक चिया पसलदेखि चोक चौराहाहरुमा निर्वाचनको कुरा मात्रै सुन्न पाईन्छ । यहाँको एउटा यस्तो बस्ती जहाँ अहिले निर्वाचनले छुन सकेको छैन ।
रत्ननगर नगरपालिका वडा नम्बर ८ मा रहेको माझी मुसहर टोलमा अहिले निर्वाचनको कुनै चहलपहल छैन । यहाँ २९ घरधुरी बसोबास गर्दै आएका छन् । उनीहरुलाई अहिले निर्वाचनको माहोलले छुन नसकेको हो । टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिंदै गर्दा समेत कुनै दलका नेताहरुको नजर यस बस्तिमा पर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिलेसम्म यहाँका मतदाता भेट्न दलका उम्मेद्वारहरु आउनु भएको छैन ।” अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार र प्रतिनिधि मत माग्न आएको भए पनि अहिले कसैको ध्यान नपुगेको उहाँले बताउनुभयो ।
निर्वाचन नजिकिदैं जाँदा त्यस टोलका बासिन्दालाई अहिले आफ्नो क्षेत्रबाट कुन–कुन दलबाट को–को उम्मेदवार हुनुहुन्छ भन्ने समेत राम्रो ज्ञान छैन । उहाँले भन्नुभयो “को को उम्मेदवार हुनुहुन्छ भन्ने बिषयमा समेत हामीलाई ज्ञान छैन ।” मतदानको दिन नजिकिदैं गर्दा यस बस्तीका मतदातालाई मतदान कसरी गर्ने भन्ने विषयमा समेत शिक्षा दिन निर्वाचन आयोगका कर्मचारी पुग्न नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो “मतदाता शिक्षा दिन कोही पनि आएका छैनन् ।” ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ ।
भर्खर २४ वर्ष पुगेर पहिलो पटक मतदाताको रुपमा आफुलाई मतदाता नामावलीमा नाम समावेश गर्नु भएका सोही टोलका महेश माझी निर्वाचनको बिषयमा खुलेर कुरा गर्न समेत मान्नुहुन्न । अहिलेसम्म आफ्नो बस्तिमा निर्वाचनले नछोएर पनि होला उहाँलाई मतदान गर्ने रुचि पनि छैन । उहाँले भन्नुभयो “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफुले दस जोड दुई उत्तीर्ण गरेर पनि रोजगारी पाउन नसके पछि अटो भाडामा लिएर चलाउँदै आउनु भएका महेश रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्न जान मन नलागेको बताउनुहुन्छ । अहिलेसम्म आफ्नो टोलमा मत माग्न समेत नेताहरु नआएको बताउँदै उहाँले भन्नुभयो “भोट जस्लाई दिए पनि काम छैन । आफुहरुले दुःख नगरी खान पाईदैन ।”
कक्षा १२ को पढाई सकेर घरमानै सीपमुलक तालिम लिदैं आउनु भएकी अञ्जली माझी दलका उम्मेदवारहरुले आफ्नो बस्तिलाई बिर्षेको जस्तो भान भएको गुनासो गर्नुहुन्छ । काम गर्ने खालका नेतालाई बिजयी गराउने आफ्नो इच्छा रहेको उहाँ बताउनुहुन्छ । भ्रष्टाचार अन्त्य गर्न सक्ने नेतालाई बुझेर मतदान गर्ने सोच भए पनि टोलमा अहिले निर्वाचनको माहोल नहुँदा उत्साह नथपिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “सडकमा नेताका गाडी र प्रचार भएका छन् । जनताको घरमा आउन सकेका छैनन् ।” अहिले यस क्षेत्रका मतदातालाई मतदान गर्ने तरिका समेत थाहा नभएको उहाँले बताउनुभयो । आफ्नो क्षेत्रमा कति उम्मेदवार छन् भन्ने बिषय समेत ज्ञान नभएको उहाँले बताउनुभयो ।
यस्तै २३ बर्षिया राजमनी माझी निर्वाचनको माहोलले आफुहरुलाई नछोएको बताउनुहुन्छ । दिनभर ड्ुङ्गा चलाउने माझी अहिले को–को उम्मेदवारहरु उठेका छन् भन्ने बिषयमा ज्ञान नभएको बताउनुहुन्छ ।






