
सनद अधिकारी
चितवन, ४ असारः चितवनको राप्ती नगरपालिका ‘पूर्णखोप दिगोपना सुनिश्चित नगर’ घोषित गरिएको छ । राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार नगरका सबै १३ वटै वडाबाट १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र अनिवार्य सबै खोप प्रदान गरिएको पुष्टि भएपछि मंगलबार उक्त घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नगरलाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा १३ वटै वडालाई पनि ‘पूर्णखोप वडा’को प्रमाणपत्र वितरण गरिएको थियो ।
संयोजक अधिकारीले बालबालिकालाई जन्मेपछि खोप नलगाइएका तथा नियमित रुपमा छुटेकाहरूको पहिचान गरी खोप सुनिश्चित गरिएको उल्लेख गर्दै यस अभियानले बालजीवन संरक्षण र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । साथै उहाँले अभियानमा सक्रिय सहभागिता जनाउने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो ।
प्रमुख रुपाखेतीले नेपालको संविधानले सबै बालबालिकालाई खोपको अधिकार प्रत्याभूत गरेको जानकारी दिँदै राप्तीमा गरिएको घरदैलो सर्वेक्षणबाट १७ जना शून्य डोज र ४ सयजना अपूर्ण खोप लगाएकाहरू पहिचान भई आवश्यक खोप प्रदान गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख शमशेर लामाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिए पनि राजनीतिक तालमेल नमिलेका कारण स्वास्थ्य क्षेत्रमा प्रभाव परेको उल्लेख गर्नुभयो । उहाँले नगरको समग्र हितका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भूमि समस्या समाधान आयोगका अध्यक्ष इमानसिंह लामाले विकासका लागि सबै सरोकारवाला पक्षहरूको साझा प्रयास अपरिहार्य भएको धारणा राख्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार हालसम्म नगरका ३,५९८ जना बालबालिकाले पूर्णखोप प्राप्त गरिसकेका छन् । राप्ती नगरपालिकाको माथिल्लो क्षेत्र पहाडी भू–भागमा सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ भने तल्लो भाग समथर भू–भागमा अवस्थित छ ।