सनद अधिकारी
चितवन , २० जेठ ः चितवनको इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीका किसानहरु यतिबेला मकै गोड्नमा व्यस्त रहेका छन् । यहाँको पाखो बारीमा लगाएको मकै यतिबेला गोड्ने बेला भएको छ । किसानहरु मकैबाली गोरु जोतेर गोड्दै गरेको देखिन्छ । गोरु जोतेर मकै गोड्दा मकै सप्रने र राम्रो फल्ने उनीहरुको भनाई छ ।
उपरदाङगढीका स्थानीय किसान सन्तबहादुर प्रजा यतिबेला गाउँले सबै किसानहरु बारीमा मकै गोड्नमा व्यस्त भएको बताउनुहुन्छ । पानी परेर उघ्रिएपछि मकै गोड्न थालिएको हो । उहाँले भन्नुभयो, “यहाँ प्रायः यतिबेला सबैजना बारीमै छन् ।” फागुन चैत तिर छरिएको मकै यतिबेला गोड्को लागि तयार भएको हो । चितवनकोे पहाडी भुभाग यस क्षेत्र चिसो हावापनी हुने स्थान हो । यतिबेला गोड्ने बेला भएको मकै साउनमा पाक्ने प्रजा बताउनुुहुन्छ । उहाँले गोरु लगाएर हलोले मकै गोड्दा मकैको बोट सप्रने बताउनुभयो । उहाँले भन्नुभयो, “ यसरी गोड्दा जरा काटिन्छ तन्किन्छ, ढल्छ अनि फेरी उठ्छ । यसरी उठेको बोट बलियो हुन्छ । यसमा फल पनि राम्रो लाग्छ ।” उहाँले थप्नुभयो, “हामीलाई यहाँ नलको भन्दा फलकै चिन्ता हुन्छ फल फलाउन राम्रोसँग गोलमेल पर्छ ।” उहाँले अब यसरी गोडेपछि भ्याए फेरी गोड्ने र नभ्याए अर्कोपटक नगोडेपनि राम्रै फल्ने बताउनुभयो ।
अर्का स्थानीय किसान सोम गुरुङले गाउँमा बाउ बाजेको पालादेखिनै मकै यसैगरी गोड्दै आएको बताउनुभयो । उहाँले मकै गोडेपछि बाक्लो भएको मकै उखेल्ने र राम्रो बोट राखिने जानकारी दिनुभयो ।
कृषि विकास कार्यालय, चितवनकाकार्यालय प्रमुख झलकनाथ कंडेलले यसरी गोरुले जोतेर मकै गोड्ने प्रचलन रही आएको बताउनुभयो । उहाँले विभिन्न नयाँ प्रविधि आएको भएपनि सबै स्थानमा प्रविधिको पहुँच नपुगेको हुँदा पुरानो प्रबिधि अनुसार गोरु, राँगाले जोतेर मकैै गोड्दा समयको बचत हुने बताउनुभयो । यसरी मकै गोड्दा बालीमा असर नगर्ने र उत्पादन राम्रै हुने उहाँको भनाई छ ।
पहाडी भिरालो जमिन भएको यहाँ मकै, फाफर, कोदो, तोरीलगाएतका बालीहरु लगाउने गरिन्छ । सीमान्तीकृत चेपाङ समुदायको बाहुल्य रहेको यस स्थानमा गुरुङ र मगरलगायतको बसोबास बढी रहेको छ ।






