चितवनः भरतपुर अस्पतालमा मुटुका बिरामीहरुको उपचारका लागि क्याथल्याब संञ्चालनको तयारी गरिएको छ । आउँदो महिना भित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडानको काम भइरहेको छ ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनाबाट क्याथल्याब संञ्चालन गर्ने तयारी गरेको थियो । पौडेलले भन्नुभयो “ जर्मनबाट सामान ल्याउँदा एउटा छुटेछ । अर्को महिनामात्र सामान आएर काम सम्पन्न हुने भएको छ ।”अस्पतालको बार्षिकोत्सब चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी अस्पतालको छ ।
क्याथल्याब जडानका लागि उपकरणमा रु ११ करोड ५० लाख खर्च भएको भन्दै उहाँले भौतिक निर्माण सहित रु १५ करोड हाराहारी खर्च हुने बताउनुभयो । अहिले अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक हुनुहुन्छ । अस्पतालका मुटु रोग बिशेषज्ञ डा. मणि गौतम अहिले अस्पतालमा मुटुको बहिरंग सेवा, सिसियु, इको, वार्ड संञ्चालनमा छन् । क्याथल्याब संञ्चालनमा आए संगै इन्टरभेन्सन कार्डीयोलोजी सेवा सुरु हुनेछ । यस संगै एन्जीयोग्राफि, एन्जीयोप्लाष्ट, पेज मेकर जडान लगाएतका सेवा दिन सकीने छ । क्याथल्याब संञ्चालनमा आए संगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकीने गौतमले बताउनुभयो । क्रमश मुटु सम्बन्धि थप उपचार गर्दै लान सकीने उहाँको भनाई छ । अस्पतालमा कम्तीमा ८ जना मुटुरोग बिशेषज्ञ (कार्डीयोलोजीष्ट) आबश्यक पर्ने गौतम बताउनुहन्छ ।
भरतपुर अस्पताल संघिय अस्पताल हो । यहाँ चितवन सहित १९ भन्दा बढी जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गर्दछन् । क्याथल्याब संञ्चालनमा आए संगै सर्वशुलभ रुपमा यो सेवा आम नागरिकले पाउने अस्पतालले जनाएको छ ।





