
चितवनः भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तहरुका लागि निःशुल्क सटल (छोटो दुरीमा चल्ने)बस संचालन गर्ने भएको छ । फागुन १ गते अर्थात बिहिबारबाट वस सञ्चालनको तयारी गरिएको हो ।
अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ वजे देखि ४ वजे सम्म बस संञ्चालन गरिने छ । ३० जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्ने छन् । उहाँले भन्नुभयो “नेपालका अस्पतालहरुमा बिरामी र बिरामीका आफन्तलाई यो सुबिधा थिएन । पहिलो पटक यो सुबिधा दिन लागेको हो ।”
अस्पतालको नर्सिङ् बिभागमा चालु अबस्थामा रहेको बसलाई सटलबसका रुपमा संञ्चालन गर्न ल्याईएको हो । भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकीमचोक, चौबिसकोठी, बिरेन्द्र क्याम्पस चोक, बिशाल चोक देखि बाईपास रोड हुँदै पुन भरतपुर अस्पताल सम्म आइपुग्ने छ । पौडेलका अनुसार अस्पतालहरुमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।
चितवन सहित १९ जिल्लाका बिरामीको उपचार हुदै आएको यस अस्पतालमा आउने बिरामी र तीनका आफन्तले समयमा अस्पताल आउने सवारी नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटलबस सञ्चालनमा ल्याएको पौडेलले बताउनुभयो ।