
चितवनः सरकारी अस्पतालमा हाँजीर गरेर बाहिर बिरामी हेर्ने गरेको गुनासो बढेपछि भरतपुर अस्पतालमा स्थानीय प्रशासनले अनुगमन तथा निरिक्षण गरेको छ । आज प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अस्पतालमा कुर्ची अनुगमन गरेको हो ।
सो क्रममा कार्यालय समयमा पाँच जना चिकित्सकहरु कार्यालयमा नरहेको पाईएको छ । उनीहरुले बिदा लिएको या नलिई बाहिर गएको स्पष्ट पार्न प्रमुख जिल्ला अधिकारी पौडेलले अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । अस्पतालमा भिडभाड बढी भएको र चिकित्सक कार्यक्षेत्रमा रहे नरहेको कुर्ची अनुगमन गर्दा केही चिकित्सक डिउटी रोष्टरमा रहेको तर कुर्चीमा नभेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मेडीसीन बिभागमा डिउटी रोष्टरमा नाम भएका चिकित्सकहरु कार्यस्थलमा पनि नभएको र राउण्डमा पनि नगरहेको पाईयो ।”
अन्य बिभागमा चिकित्सकहरुले सहज रुपमा काम भएको पाईएको उहाँले बताउनुभयो । उहाँले शल्यक्रियामा ११ जनाको पालो भए पनि २० जनाको शल्यक्रिया गरेको देखिएको जानकारी दिनुभयो । पौडेलका अनुसार भिडियो एक्सरे, सिटिस्क्यान लगाएतका क्षेत्रमा चिकित्सक र स्वास्थ्य कर्मी उपस्थित भएको पाईएको छ । सेवा निरन्तर रहेको भन्दै उहाँले अनुपस्थित चिकित्सकहरुको हाँजीर प्रशासनले लिएर गएको भन्दै उहाँले अन्य बिषयमा स्पष्टिकरण सोधिने बताउनुभयो ।
अस्पतालमा अनुगमनका क्रममा चिकित्सक भित्र रहने तर कुन चिकित्सकले आफ्नो स्वास्थ्य परिक्षण ग¥यो भन्ने कुरा थाहा नहुने स्थिति देखिएको उहाँले बताउनुभयो । बिरामीले कुन चिकित्सक संग जचाउँदै छु भन्ने कुरो स्पष्ट देखिनु पर्छ । उहाँले भन्नुभयो “मेडीकल वाडमा यो कुरा देखिएन । चिकित्सकको बोड राखेर चेकजाँच गर्न निर्देशन दिईएको छ ।”
अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले स्थानीय प्रशासनको निरिक्षण अनुगमन पछि कर्मचारी र अस्पतालको सेवामा सुधार हुने बताउनुभयो । उहाँले स्थानीय प्रशासनबाट हुने अनुगमन निरिक्षणले चिकित्सक तथा कर्मचारीहरुमा काम प्रति जिम्मेवार बोध गर्ने बताउनुभयो ।