
चितवनः यहाँको मौलाकालिका अस्पतालले एक महिनाका लागि बिशेष छुट कार्यक्रम घोषणा गरेको छ । अस्पतालले आफ्नो नवनिर्मित भवनमा सरेको अबसरमा सेवाग्राहीहरुलाई बहिरंग सेवा (ओपिडि) निशुल्क र अन्य सेवाहरुमा ५० प्रतिशत छुटको घोषणा गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० बिमानस्थल अगाडी रहेको सो अस्पतालले भोली सोमबार देखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरीएको ६ तले सुबिधासम्पन्न अत्याधुनीक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा.माणिकलाल मानन्धरले जानकारी दिनुभयो । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सरकारको मापदण्ड अनुसारको भवनमा अस्पताल संञ्चालनमा ल्याईएको बताउनुभयो । स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संञ्चालनका लागि अस्पताललाई एक सय शैय्याको आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले मापदण्डहरु पुरा गरि अत्याधुनीक सुविधा सहितको भवन निर्माण गरेको उहाँले बताउनुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा.केशबराज भूर्तेलले नयाँ भवनबाट आकस्मिक सेवा सहितका सबै खालका सेवा दिन लागिएको बताउनुभयो । सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार निःशुल्क सेवा भए पनि १० प्रतिशत पु¥याउन सकिएको छैन । जिल्लाका ठूला मेडीकल कलेज बाहेक अन्य नीजि क्षेत्रबाट संञ्चालित अस्पतालहरुले सो सेवा पु¥याउन कठीन हुने गरेको भूर्तेलले वताउनुभयो । मानन्धर र भूर्तेल भरतपुर अस्पतालका पूर्ब मेडीकल सुपरिटेण्डेण्ट हुनुहुन्छ । सरकारी सेवामा रहँदा आफुले पाएका अनुभवलाई समेटेर उहाँहरुले दक्ष चिकित्सकीय टोलीको साथमा यो अस्पताल संञ्चालन गर्दै आउनु भएको छ ।