चितवनः भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेत प्रदान गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई बिरामी छु भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।” अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उहाँको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको भन्दै क्रमशः व्यवस्थित गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उहाँको भनाई छ । अस्पतालको बाल रोग विभागमा ६६ शैया रहेका छन् ।

अस्पताल आफैले सामग्री खरिद गरी शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने वचन दिएको उहाँले बताउनुभयो । अस्पतालमा एनआईसियू, पिआईसियु सेवा समेत रहेको छ । यो संघीय अस्पताल हो । यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !