चितवनः यहाँको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपाल सहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् । क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाईटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपालको आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।
सोसाईटीको छैठौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स र एसोसिएसनको तेस्रो राष्ट्रिय कन्फ्रेन्समा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्रा.डा.शितल अधिकारीका अनुसार कार्यशालामा नेपाल सहित, भारत, फिलिपिन्स, बंगलादेश, श्रीलंका, थाईल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा ६५० प्रतिनिधि रहेको भन्दै अधिकारीले आयोजक सहित यो संख्या ७५० हाराहारी पुगेको बताउनुभयो । उनीहरुले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए । सोसाइटीका कार्यशाला संयोजन गर्नुभएका डा.हेमराज पनेरुका अनुसार दुई दिनमा ६० वटा चिकित्सकहरुको र ४० वटा नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुका अनुसार छलफलका क्रममा सरकारको तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्षहरु तयार पारेको बताउनुभयो ।
एसोसिएसनका तर्फबाट कार्यशाला संयोजन गर्नुभएकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानहरुलाई एक अर्काेमा आदानप्रदान गर्न सहयोगी बनेको बताउनुभयो । यो कार्यशालाबाट फर्किएपछि जोकोहीलाई काममा उर्जा मिल्ने उहाँको भनाई छ । अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने भएकाले समय समयमा यस्ता कार्यक्रम आयोजना गरेर सीप र दक्षता अभिबृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा सोसाईटी र एसोसिएसनका विभिन्न तह र तप्कामा रहेका अधिकारीहरु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तक्र्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताउनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तीकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक नर्सहरुलाई थप परिस्किृत गर्दै लैजान सहयोग पुग्ने बताउनुभयो ।