चितवनः यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीहरुको प्रकार परीक्षण शुरु गरिएको छ । यस अघि नमूना बाहिर पठाईदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साईटोमेट्रि सेवा शुरु गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु.१ करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा शुरु गरिएको हो ।

उहाँका अनुसार एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाईएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यस अघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाण्डौं जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उहाँले जानकारी दिनुभयो । बाहिर पठाउँदा रु.३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा रु.१२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।

पौडेलले भन्नुभयो “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” डा.पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफूहरु लागिरहेको बताउनुभयो । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याईएको छ भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याईदै छ ।

प्रतिक्रिया दिनुहोस !