चितवनः जिल्लामा रगतको अभाव देखिएको छ । चार्डपर्वका कारण रक्तदान कार्यक्रमहरु कम हुँदा रगतको अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक अपिल जारि गर्दै रगतको अभाव भएकाले रक्तदान गर्न आग्रह गरेको छ । चाडपर्वको समयमा रक्तदानका कार्यक्रमहरु कम हुने भएकाले रगतको अभाव देखिएको सोसाइटीका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो । यहाँ दैनिक २ सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत प्रयाप्त मात्रामा उपलव्ध गराउन नसकिएको उहाँले बताउनुभयो । यहाँ उपचारका लागि आएका बिरामीका लागि रगत पु¥याउनका लागि कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाही लगायतका जिल्लाहरुबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव देखिएको उहाँले बताउनुभयो ।

अहिले बिरामी र बिरामीका आफन्तले रक्तदाता खोजेर रगत दिने गरेका छन् । रगतको अभावका कारण नियमित गर्ने शल्यक्रियहरुलाई समेत समस्या हुने गरेको पौडेलले बताउनुभयो । यहाँ रहेको भरतपुर अस्पताल, वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडीकल साइन्सेस शिक्ष अस्पताल, चितवन मेडिकल कलेज लगायतका अस्पतालमा नेपाल र भारतका बिरामीहरुको उपचार हुँदै आएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले जिल्लामा डेंगुका बिरामी वढ्नु, रक्तदान सम्बन्धी गतिबिधि नहुनु, क्याम्पसहरु वन्द हुनु लगायतका कारणले रगतको अभाव भएको बताउनुभयो । चाडपर्वमा सबै गाउँ जाने हुँदा रक्तदानका कार्यक्रमहरु नभएको भन्दै उहाँले रगतको अभाव हुन नदिन रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आग्रह गर्नुभयो । उहाँले केन्द्रमा आएर पनि रगत दिन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !