चितवनः जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ हजार २४३ जनामा डेंगुको संक्रमण देखिएको छ । साउन यता ६ हजार ३४७ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगुको संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित मध्ये चितवनका १ हजार ६९२ जना र जिल्ला बाहिरका ५५१ जना रहेका छन् । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ७३० जनामा डेंगुको संक्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिनुभयो । सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेंगु देखिएको छ । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा ४४७ जना, रत्ननगर नगरपालिकामा ३१९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेंगुको संक्रमण देखिएको हो । जिल्लामा डेंगुको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

जिल्लामा गत आर्थिक वर्षमा १ हजार ८३१ जनामा डेंगुको संक्रमण देखिएको थियो । उहाँका अनुसार २३ हजार ८४० जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । बर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकुल बातावरण बन्ने भएकाले बिशेष गरि भदौ, असोजमा डेंगु रोग देखिने गर्दछ । यो रोग एडिस जातको पोथि लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राब हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो । डेंगु ज्वरो बिषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिनुभयो ।

डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आँफु बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको रुपाखेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !