चितवनः यहाँको सरकारी भरतपुर अस्पतालमा दसैंको टिकाको दिनमा १५ जनाले प्रसुती सेवा लिएका छन् । २४ घण्टाको अवधिमा १० जनालाई सामान्य र पाँच जनालाई शल्यक्रिया सेवा दिईएको हो ।
नेपालीहरुको ठूलो पर्व वडा दसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टहरुमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसुती सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालहरुमा दसैंँको बेलामा आकस्मिक सेवा समेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसुती विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल चिकित्सकहरुलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसुती सेवा दिन सहज भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवन सहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य समयको भन्दा बढी प्रसुती सेवा लिन आउँछन् ।”
उहाँका अनुसार गोरखा, लम्जुङ्, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ् लगायतका जिल्लाबाट यहाँ प्रसुती सेवा लिन बिरामीहरु आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसुती विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसुती सेवा लिने गर्दछन् । ती मध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्ट लगायत साना अस्पतालमा सामान्य प्रसुती हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको संख्या धेरै हुने गरेको प्रा.डा.पौडेल बताउनुहुन्छ ।
अस्पतालमा १३ जना बिशेषज्ञ चिकित्सक, ४ जना आवासीय चिकित्सक र ५ जना तालिम प्राप्त मेडिकल अधिकृत रहेका छन् । सँगै ३२ जना तालिमप्राप्त नर्सिङ् स्टाफ रहेको उहाँ वताउनुहुन्छ । प्रसुतीका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दसैँंको समयमा समेत सेवा नरोकेको बताउनुभयो ।अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसुती सेवा दिने गरेको छ । पछिल्ला वर्षहरुमा संख्या घट्दै गएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले दसैँको समयमा अस्पतालको आकस्मिक सेवा सहित प्रसुती सेवा सूचारु गरिएको बताउनुभयो । आकस्मिक रुपमा गर्नुपर्ने प्रसुती लगायत अन्य शल्यक्रियाहरु नरोकिएको उहाँको भनाई छ ।
भरतपुर अस्पताल प्रसुती सेवामा अब्वल मानिन्छ । प्रसुती गराउनेहरुका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ । निजी अस्पतालमा भन्दा प्रसुती गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ । यहाँ २० शैंय्याको बाल सघन उपचार (एनआईसियू) कक्ष समेत रहेको छ । सरकारीमा प्रसुती गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ ।