चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आँखा उपचारलाई प्रथामिकतामा राख्न जरुरी रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योती संघ चितवनद्धारा संञ्चालित भरतपुर आँखा अस्पतालको आज निरिक्षण गर्दै उहाँले सरकारी पक्षबाट पनि यो आँखा उपचारलाई व्यवथित रुपमा अघि वढाउनका लागि लगानी गर्न आबश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “जनशक्ति व्यवस्थापन गर्न आबश्यक छ । उपचारका लागि यसको जनशक्ति उत्पादनमा पनि हामीले काम गर्न आबश्यक छ ।”यसका लागि सहकार्य गरेर काम गर्न उहाँले अनुरोध गर्नुभयो । नेत्रज्योती संघले देशभरी आँखा उपचार केन्द्रहरु खोलेर आँखा उपचारलाई सहज बनाएको बताउँदै उहाँले गैरसरकारी क्षेत्रबाट योगदान पुग्ने गरी काम गर्नेकुरा प्रसंशनिय भएको बताउनुभयो ।
आँखा उपचारका लागि आबश्यक जनशक्ति अहिले पाउन कठिन भएको भन्दै उहाँले भन्नुभयो “नेत्रज्योती संघका अग्रजहरुले मन्त्रालयमा आएर हामीलाई डाक्टर चाहियो राम्रो तलब दिएर लान चाहान्छौ भन्नुभएको छ । तर हामीलेडाक्टर दिन सकीरहेका छैनौ ।”
यो जनशक्ति पुरा गर्न नेत्रज्योती संघ संग सहकार्य गरेर सरकार अघि वढ्न तयार रहेको उहाँले बताउनुभयो । सरकारले यसलाई प्रथामिकतामा राखेर बिषेश व्यवस्था गर्नुपर्ने आबश्यकता देखिएको बताउँनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योती संघ बागमती प्रदेश सभापति ऋषिराम पौडेल, संघ जिल्ला उपसभापति तेजेन्द्र वहादुर खड्का, सचिब केशब अधिकारी, अस्पतालका प्रमुख मेडीकल डाइरेक्टर डा. पुष्पा गिरीले अस्पतालको बिमा रकम रु ९ करोड भन्दा बढि बिमा बोर्डले दिन बाँकी रहेको जानकारी गराउनु भयो । जसका कारण अस्पताल सञ्चालनमा कठिनाई भएको उहाँहरुले बताउनुभयो ।
यसै बिच मन्त्री पौडेलले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटको निरीक्षण गर्नुभएको छ । मन्त्री पौडेलले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुभएको हो ।
शिक्षण अस्पतालको आकस्मिक कक्ष, रेडियोलोजी विभाग, क्रिटिकल केयर युनिट लगायतको निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री पौडेलले अस्पतालले दिएको सेवा सुविधा, स्वास्थ्य बीमा, विपन्न उपचार लगायतका विषयमा चासो व्यक्त गर्नुभयो ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले नेपाल सरकारले तोके बमोजिम विपन्नलाई उपचार सेवा दिएको र स्वास्थ्य बीमा प्रभावकारी भएको मन्त्री पौडेललाई जानकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष प्रा.डा.न्यौपानेले सरकारी क्यान्सर अस्पतालमा लाग्ने शुल्कमा नै आफूहरुले क्यान्सरको उपचार गर्दै आएको जानकारी गराउनुभयो । अत्याधुनिक उपकरण सहित बोनम्यारो प्रत्यारोपण बाहेकका सम्पूर्ण क्यान्सर उपचार सेवा दिंदै आएको उहाँले बताउनुभयो ।





