चितवनः दश वर्ष अघि लिईएको एक तथ्यांकमा यहाँबाट २४ घण्टामा ६९ वटा एम्बुलेन्स बिरामी बोकेर काठमाण्डौं गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा. भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्यांक लिनु भएको थियो ।
अधिकारीको भनाईमा भरतपुर मेडिकल सिटीको अध्ययनका लागि लिईएको तथ्यांकमा धेरै बिरामी थप उपचारका लागि काठमाण्डौं गएको पाईएको थियो । यो संख्या अहिले आएर हेर्दै गर्दा निकै कम भएको देखिन्छ । एकिन तथ्यांक नलिईएको भएपनि देशभरका एम्बुलेन्स चालकहरुको साझा संस्था संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछाने अहिले दैनिक छ÷सात वटा एम्बुलेन्स मात्रै बिरामी लिएर जाने गरेको बताउनुहुन्छ ।
भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका डा. अधिकारी पहिले पहिले विरामीले सामान्य परीक्षण यहाँ गरेर थप परीक्षणका लागि काठमाण्डौं जाने गर्दथे । उहाँले भन्नुभयो “उपचार थालेको एक दुई दिनमा ठीक हुन्छ कि हुँदैन, होइन भने काठमाण्डौं जान्छु बिरामीले भन्ने गर्नुहुन्थ्यो, अहिले त्यस्तो छैन ।”
अहिले जिल्लामा सबै सुविधा भएका कारण सकेसम्म बिरामी यही उपचार गर्न चाहने गरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “सबै खालका उपचार यहाँ हुने भएपछि बाहिरी जिल्लाबाट काठमाण्डौं जाने गरेका बिरामी पनि यहाँ आउने गरेका छन् ।”
भरतपुरमा संघीय सरकारको केन्द्रीय स्तरको एक भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल सहित २० भन्दा बढी साना ठूला निजी अस्पताल सञ्चालनमा छन् । यसका अतिरिक्त उत्कृष्ट प्रयोगशालाहरु यही छन् ।
केही वर्ष अघिसम्म यहाँबाट मुटु, न्यूरो, बाल शल्यचिकित्सा, हर्मनरोग, मेरुदण्ड जस्ता रोगका बिरामी काठमाण्डौं जाने गर्दथे । यहाँका मेडिकल कलेजले नेपालमा दिन सकिने सबै सेवा दिएकै कारण यहाँका बिरामी बाहिर जान घटेका हुन् ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि काठमाण्डौं जाने बिरामी घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “काठमाण्डौं जाने होइन, बिरामी काठमाण्डौंबाट चितवन आउने गरेका छन् ।” उहाँले छिमेकी जिल्लाहरुबाट रिफर भएर पनि ठूलो संख्यामा बिरामी यहाँ आउने गरेको बताउनुभयो । उहाँले थप्नुभयो “मुटु, मृर्गाैला, मेरुदण्ड लगायतका बिरामी काठमाण्डौंबाट चितवन आउँछन् ।”
क्यान्सर उपचारका लागि चितवन देशकै केन्द्र भएको भन्दै प्रा.डा. न्यौपानेले राजधानी सहित देशैभरी र भारतबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाण्डौंमा हुने उपचार चितवनमा हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “बोनम्यारो प्रत्यारोपण बाहेक सबै उपचार चितवनमा हुन्छन् ।” राजधानी काठमाण्डौंमा भेट हुने भन्दै विज्ञ चिकित्सकसँग सर्वसुलभ यही उपचार हुने भएपछि बिरामी काठमाण्डौं जान छाडेको उहाँको भनाई छ ।
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल विगतको तुलनामा निकै न्यून बिरामी मात्रै यहाँबाट रिफर लिएर जाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनमा विशिष्टिकृत सेवा शुरु भएसँगै बिरामीहरु यही उपचार गर्न थालेका छन् ।” सरकारी र निजी क्षेत्र दुवैमा उच्चस्तरका उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण यहाँ सबै खालको उपचार सम्भव हुँदै गएको उहाँ बताउनुहुन्छ ।
भरतपुर आँखा अस्पताल आँखा उपचारमा विशिष्टिकृतत बन्दै गएपछि यहाँको आँखा उपचार सेवा पनि राम्रो बनेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटमा बोनम्यरो प्रत्यारोपण बाहेकका सबै खाले उपचार हुने गरेका छन् ।
देशको मध्यभागमा पर्ने र यातायातको सहजताले पनि यहाँ देशैभरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाबाट यस अघि काठमाण्डौं जाने गरेका बिरामी पछिल्ला दिनहरुमा यहाँ आउने गरेका छन् ।
स्वास्थ्य बीमाको सुविधा यहाँका ठूला अस्पतालमा हुँदा बिरामीलाई उपचारमा सहज भएको छ ।





