चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघघरे निवासी भिम वहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलो पटक भरतपुर अस्पतालमा उपचार गराउन आउनु भयो । उहाँले यस अघिसम्म बीमा गराउनु भएको थिएन ।

मजदुरी गरेर आफ्नो परिवार चलाउँदै आउनु भएका क्षेत्री आफ्नै स्वास्थ्यमा समस्या देखिएर उपचारका लागि भरतपुर अस्पतालमा आईपुग्नु भएको हो । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ भन्ने सुनेको भए पनि त्यसमा आफु समाबेस हुन नसक्दा हरेक पटक कमाएको पैसा खर्च गरेर उपचार गर्नु पर्ने र घरमा छाक टार्न समेत मुस्किल हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “स्वास्थ्य बीमाको बारेमा आफुलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” दैनिक मजदुरी गरेर जीवन चलाउनु पर्ने बाध्यतामा रहनुभएका क्षेत्री अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशत मात्र आफुले व्यहोर्नु पर्ने भन्ने सुन्दा दङ्ग पर्नुभयो । लाइन लामो भए पनि आफु उपचार गराएरै जाने उहाँले बताउनुभयो ।

माडी नगरपालिका वडा नम्बर ७ बाट उपचारका लागि भरततपुर अस्पताल आउनु भएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाईदा गरेको बताउनुभयो । उहाँले भन्नुभयो “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरुका लागि स्वास्थ्य बीमा फलदायी छ ।”

पहिला आफुलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो “हामी जस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ ।” गाउँमा खेती किसानी गरेर बस्ने बराल बिभिन्न समस्याले नियमित जसो अस्पताल आउनु पर्दा बीमाबाट आफ्नो उपचार गर्न पाउँदा खर्च हुने ठूलो रकम बच्ने गरेको सुनाउनु हुन्छ ।

यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थ आफ्नो बिगत तीन वर्षदेखि बीमा मार्फत नै उपचार गराउँदै आएको बताउनुभयो । अस्पतालको टिकट काउन्टर अगाडी भेटिनुभएका पन्थ आफ्नो पेटमा समस्या भएर अस्पताल आउनुभएको हो । उहाँले भन्नुभयो “स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाईएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाईएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । आफुले सहुलियतामा उपचार गर्न पाएको सुनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताउनुभयो ।

यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा २ लाख ६० हजार पटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बीमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरुलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।”

आर्थिक वर्ष २०७९÷०८० मा अस्पतालमा बीमामार्फत २ लाख ५० हजार ६१७ पटक उपलव्ध गराईएको पौडेलले जानकारी दिनुभयो । एउटै व्यक्ति धेरै पटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो बर्ष रु ५२ करोड ५३ लाख ३७ हजार ५१२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउनुहुन्छ । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भएपनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट समेत उपचारका लागि रिफर लिएर बिरामी आउन थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा शुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नु पर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाई छ ।

उहाँले भन्नुभयो “स्वास्थ्य बीमा विशेषगरी विपन्नका लागि बरदान सावित भएको छ ।” बीमा कार्यक्रम लागू भएसँगै बिरामीको संख्या पनि ह्वात्तै बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !