चितवनः नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्य मन्त्रालयले हालै ल्याएको दुई सिफ्ट बहिरंग सेवा सञ्चालन गर्ने सोच राम्रो भएको बताउनु भएको छ । उहाँले कार्यान्वयन भने पेचिलो भएको बताउनुभएको हो ।
उहाँले यसलाई कार्यान्वयन गर्ने हो भनेस्वास्थ्यको बजेट बढाउन सक्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताल विकास समितिहरुले जनशक्तिमा लगानी गर्नुप¥यो । सरकारले पनि दरबन्दी थप्नुप¥यो ।”
राजनीतिक नेतृत्व परिवर्तन भईरहँदा नयाँ कार्यक्रमहरु आउने गरेको भन्दै उहाँले यसको गहिराई अध्ययन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयले दुई सिफ्टको ओपिडी (बहिरंग सेवा) के उद्देश्यले ल्याएको हो ? भन्ने आफूहरु स्पष्ट नभएको भन्दै उहाँले अगाडि थप्नुभयो “दुई सिफ्टमा जनतालाई सेवा दिएर पहुँच बढाउँछु भन्ने त राम्रो हो । तर, यसको प्राविधिक पाटो र जनशक्तिको पाटो मुख्य कुरा हुन् ।” स्वास्थ्य मन्त्रालयलाई हेर्दा अहिले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा. कार्कीले अगाडि थप्नुभयो “किनकी त्यही जनशक्तिले धेरै समय काम गर्नु, समय बढाएर काम गर्नु, गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कल्पना नै गर्न नसकिने विषय हो ।” सेवाको समय बढेपछि बिरामीको चाप पनि थपिने र सेवाको चाप पनि थपिने उहाँको भनाई छ ।
विकसित मुलुकहरुको उदाहरण दिंदै अध्यक्ष डा. कार्कीले भन्नुभयो “संसारका विकसित मुलुकहरुमा पनि वेटिङ (पालो कुर्ने) प्रणाली छ । बेलायतमा हेर्ने हो भने बीमा (इन्स्योरेन्स) ले गर्दा ६ महिनादेखि एक वर्षको वेटिङ लिस्ट हुन्छ । अमेरिकामा पनि त्यस्तै छ ।” एटिएमले पैसा दिए जस्तै तुरुन्त सेवा दिनुपर्छ भन्ने गलत धारणा बोकेर हामी हिँडिरहेको भन्दै उहाँले भन्नुभयो “उपचार कुनै इमर्जेन्सी (आकस्मिक) हुन्छ, त्यसलाई तुरुन्त दिनुपर्छ, कुनै ढिलो उपचार गर्दा पनि घाटा नहुने हुन्छ ।”
केवल बहिरंगलाई मात्रै हेरेर अस्पतालको कुरा गरेर नहुने भन्दै उहाँले बहिरंग बाहेक चिकित्सकले दिने सेवा धेरै भएको बताउनुभयो । अन्तरंगमा भएका बिरामी, शल्यक्रिया, औषधि व्यवस्थान, अन्य परीक्षणहरु लगायत धेरै काम अस्पतालमा चिकित्सकले गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।