चितवन: कारागार कार्यालय चितवनमा रहेका कैदी वन्दीमा बढ्दो गर्मी संगै बिभिन्न किसिमका समस्याहरु देखिएका छन् । कार्यालयमा रहेका कैदी वन्दीमा गमीले गर्दा छाला, ज्वरो र झाडापखलाको समस्या देखिएको छ ।
कार्यालयका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उहाँले भन्नुभयो “अहिले यो समस्या दुई यस भन्दा बढि कैदी वन्दीमा रहेको छ ।” साँघुरो ठाउँमा बस्नु पर्ने पसिना आउने सुक्ने हुने हुँदा यो समस्या देखिएको उहाँले बताउनुभयो । यस्तै अहिले कारागारमा रहेका कैदी वन्दीमा ६० जना भन्दा बढिमा ज्वरो र २० जना भन्दा बढिमा झाडापखलाको समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो “गर्मीले गर्दा कम्जोरी महशुश गर्ने कैदी वन्दीको संख्या बढ्दो क्रममा रहेको छ ।” उपचार गर्ने वजेट प्रयाप्त नहुँदा कारागारमा नै उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । अस्पताल लगेर भर्ना गर्नुपर्ने अबस्था नभए पनि उच्च साबधानी अपनाईएको कारागार कार्यालय चितवनका प्रमुख कमलनाथ आचार्यले वताउनुभयो । अन्य दिर्घ रोगीहरुको नियमित उपचार भईरहेको भन्दै उहाँले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उहाँको भनाई थियो ।
गर्मी वढे संगै क्षमता भन्दा बढि कैदी वन्दी हुँदा बिगत चार महीना देखि कैदीवन्दीलाई त्रिपाल मुनी राख्नु परेको उहाँले बताउनुभयो । अहिले दुईवटा व्लकमा ५० जना भन्दा बढिलाई त्रिपालमुनी राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “क्षमता भन्दा बढि कैदी वन्दी भएका कारण त्रिपालमुनी राख्नु परेको छ ।” बर्षातको समयमा समेत उनीहरुलाई त्रिपालमुनी राख्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । अहिले ख र ग व्लकमा त्रिपालमुनी राखिएको उहाँले जानकारी दिनुभयो । गर्मी बढ्दै जाने र कैदीवन्दी थप्पीदै जाँदा त्रिपालमुनी राख्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।
कारागार कार्यालय चितवनमा अहिले ७३४ जना कैदी वन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना कैदी वन्दी रहेका छन् । उनीहरु संग आश्रीत दुई जना बालबालिका समेत रहेको कार्यालयले जनाएको छ ।






