चितवन: हरेक बर्ष संघ संस्थाले जिल्लाका बिभिन्न स्थानहरुमा बृक्षारोपण गर्ने गरेका छन् । ती रोपिएका बिरुवाहरु भने कति संरक्षण भए र कति भएनन् भन्ने बास्तबिक तथ्याङ्क भने छैन ।

डिभिजन वन कार्यालय चितवनमा हुर्काईएका बिरुवा हरेक वर्ष बिभिन्न अबसर पारेर रोप्ने गरिन्छ । कार्यालयमा हुर्काईएका बिरुवा गत वर्ष २ लाख ४ हजार ७४ रोपिएको थियो । ती बिरुवा मध्ये कति बिरुवा हुर्कीए र कति मरे भन्ने बास्तबिक तथ्याङ्क कार्यालय संग छैन । कार्यालयका सूचना अधिकारी वन अधिकृत देवी प्रसाद पौडेलका अनुसार यहाँ हुर्काईएका कपुर, धुपि, म्याङ्गोस्टीक, अम्बा, कागती, चाप, अर्जुना लगाएतका जातका बिरुवाहरु हरेक वर्ष रोप्ने गरिन्छ ।
गत वर्ष जिल्लाका २९ वटा संस्थाले एक हजारका दरले बिरुवा लगेका थिए । लगिएका बिरुवा मध्ये वहुबर्षिय र सिजनल बिरुवाहरु हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बहुबर्षिय बिरुवाहरु ६० प्रतिशत हाराहारी र सिजनल बिरुवाहरु ४० प्रतिशत हाराहारी मात्रै बाँच्ने गरेको पाईन्छ । उहाँले भन्नुभयो “बहुबर्षिय बिरुवाहरुको जरा बलियो हुने भएकाले धेरै बाँच्ने गर्छ ।” बिरुवा लगेर बाँड्ने भन्दै संघ संस्थाले लगेका बिरुवा कतिपय समुदायले प्रयोग र संरक्षण राम्रो संग नगर्दा मर्ने गरेको पाईएको उहाँले बताउनुभयो ।
बिरुवा बितरण गरेका संघ संस्थाहरुले नियमित अनुगमन नगर्दा यस्तो समसस्या देखिएको उहाँले जानकारी दिनुभयो । लगेका बिरुवाको सही सदुपयोग नभए पछि कार्यालयले यस वर्षबाट बिरुवा बितरणमा समेत कडाई गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले हामीले बिरुवा रोप्ने व्यक्ति स्वयम आएमा मात्र बिरुवा दिने भनेका छौ । एउटा संस्था बा व्यक्तिले धेरै बिरुवा लगेर नरोपिकन फाल्ने गरेको पाईए पछि यस्तो गर्न लागिएको हो ।” उहाँका अनुसार बिरुवा रोप्नका लागि तयार पारिएको खाल्डो सहित सम्बन्धित व्यक्ति आँफै आएमा मात्र बिरुवा दिईने उहाँले बताउनुभयो । बिरुवा दिईएका व्यक्तिहरुको सम्पूर्ण बिबरण राखेर कार्यालयले कडाईका साथ अनुगमन गर्ने योजनामा समेत रहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष कार्यालयले १ लाख २० हजार बिरुवा बितरण गर्ने तयारी गरेको छ । हरेक वर्ष असार १४ गतेबाट बिरुवा बितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । बितरण गर्न लागिएका बिरुवा मध्ये ७० हजार बिरुवा बहुबर्षिय र ५० हजार बिरुवा सिजनल रहेको कार्यालयले जनाएको छ । यसै क्रममा बिश्व बातावरण दिवसको अबसरमा आज जिल्लाका ३२ वटा संस्थाले १ हजार ४६० बिरुवा रोपेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !