चितवनः जिल्लाका दुग्ध उत्पादक किसानले गएको कात्तिक महिना देखिको भूक्तानी पाउन सकेका छैनन् । एकिन तथ्याङ्क नभए पनि रु ७० करोड भन्दा बढी भूक्तानी पाउन बाँकी रहेको कृषकहरुको भनाई छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भूक्तानी रोकीदाँ कृषक मर्कामा छन् । ११४ वटा दुग्ध उत्पादक सहकारी मार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगहरुले भूक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिक महिनाको समेत भूक्तानी गर्न बाँकी रहेको छ । दुग्ध बिकास संस्थानको मंसिर यताको बाँकी छ । बगालेका अनुसार सबैभन्दा बढी संस्थानको रु २२ करोड भन्दा बढी छ । अन्य २८ वटा डेरी उद्योगले भूक्तानी गर्न बाँकी रहेको छ । ती डेरी मध्ये कतिपयको माघ यताको समेत भूक्तानी भएको छैन ।
उहाँले भन्नुभयो “दुग्ध विकास संस्थान र नीजि दूग्ध उत्पादक कम्पनीहरुले दूध लगे बापतका रकम अहिलेसम्म नदिदाँ किसानलाई समस्या भएको छ ।” हरेक १५÷१५ दिनमा दूधको भुक्तानी पाउनु पर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानहरुले पशुलाई आहार खुवाउन समेत कठिन बन्दै गएको उहाँको भनाई छ ।
जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुने गर्दछ । यहाँ उत्पादित दूध मध्ये १ लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दूध जिल्लामानै खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । जेठ महिना भित्र पनि भूक्तानी नपाए असारबाट कृषकहरु आन्दोलनमा उत्रने उहाँको भनाई छ । उहाँले भन्नुभयो “अब अत्ति भयो । यो महिनामा पनि भूक्तानी पाएनौ भने हामी आन्दोलनमा जानुको बिकल्प छैन ।”
दैनिक रु १ करोडको दूध बिक्रि हुँदै आएको छ । डेरी उद्योगहरुले दूध बिक्रि नभएर बटर र पाउडर दूध वनाएर राखेकोमा ती उत्पादन बिक्रि नहुँदा भूक्तानी गर्न कठिन भएको जनाउँदै आएका छन् । कृषकहरुले केहीमहिना अघि सम्म दूध बिक्रिमा समस्या भए पनि पछिल्ला दिनहरुमा कुनै समस्या नभएकाले कुनैपनि बाहनामा भूक्तानी रोक्न नहुने बताउँदै आएका छन् । जिल्लामा ५ सय हाराहारी पशु पालन फर्म रहेका छन् । १ लाख गाई र ६० हजार भन्दा बढी भैसी पालन गरेर दुध उत्पादन गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस !